
काठमाडौं – नेपाली चलचित्र ‘रोल नम्बर १’ यतिबेला विद्यार्थी, शिक्षक र अभिभावक माझ निकै लोकप्रिय बनिरहेको छ। सिनेमाले उठान गरेको गम्भीर विषयवस्तु र उत्कृष्ट प्रस्तुतिको सर्वत्र प्रशंसा भएसँगै आफ्ना विद्यार्थीहरूलाई हलसम्म लगेर चलचित्र देखाउन यतिबेला विभिन्न विद्यालयहरूबीच सामूहिक अवलोकनको प्रतिस्पर्धा नै चल्न थालेको छ।
शिक्षा प्रणाली, पारिवारिक सम्बन्धका विविध आयाम, विद्यार्थी जीवनका सङ्घर्ष र हाम्रो समाजको यथार्थलाई यस चलचित्रले अत्यन्तै मर्मस्पर्शी तथा भावनात्मक रूपमा पर्दामा उतारेको छ। सिनेमा हेरेर निस्किएका अधिकांश विद्यार्थी र शिक्षकहरूले यो चलचित्र केवल विद्यालयको तर्फबाट मात्र नभई घरमा अभिभावकसँगै बसेर हेर्नुपर्ने ‘जीवन्त कथा’ भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार, परिवारभित्रको पुस्तान्तरण, हराउँदै गएको संवाद र आपसी बुझाइलाई पुनर्स्थापित गर्न यस सिनेमाले एउटा महत्त्वपूर्ण सेतुको काम गर्न सक्छ।

चलचित्रको कथावस्तुले गहिरोसँग मन छोएपछि हलमा सिनेमा हेर्दै गर्दा धेरै दर्शकहरू भावुक बनेका छन्। विद्यालयको तर्फबाट सिनेमा हेर्न पुगेका कतिपय विद्यार्थीहरूले त यसमा उठाइएका विषयवस्तुलाई आफ्ना आमाबुबाले पनि बुझ्न आवश्यक रहेको भन्दै पुनः सपरिवार हलमा आउने इच्छासमेत व्यक्त गरेका छन्। बालबालिकादेखि पाका उमेरका अभिभावकसम्म सबै उमेर समूहका दर्शकको मन छुन सफल यस सिनेमाले यतिबेला दर्शकको बलियो ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ। दर्शकहरूको यही स्वस्फूर्त सकारात्मक प्रतिक्रिया र हलहरूमा देखिएको बढ्दो आकर्षणका कारण आगामी दिनहरूमा ‘रोल नम्बर १’ ले बक्सअफिसमा अझ उत्कृष्ट र सानदार व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।




