कस्तो चल्यो ‘कायरा’ ?



लक्ष्मण रिजाल निर्देशित चलचित्र ‘कायरा’ हेर्न हलमा दर्शकको भिड लागेको छ । चलचित्रले रिलिज भएको दुई दिनमा एक करोड कलेक्सन गरेको वितरक सुनील मानन्धरले बताएका छन् ।

शनिबार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दर्शक प्रतिक्रिया बुझ्न राजधानीका हल हलमा पुगेका थिए । हलमा चलचित्र हेर्न दर्शकको भिड निकै लोभलाग्दो थियो ।

विशेषतः यो चलचित्रलाई युवा वर्गका दर्शकले रुचाएका छन् । आर्यन र साम्राज्ञीको जोडीको तारिफ भएको छ । चलचित्र हेर्न हल पुग्नेहरु १६/२० वर्ष उमेर समुहका बढी छन् । समीक्षक र दर्शकको एक ठूलो वर्गले भने चलचित्रको कथालाई लिएर आलोचना गरेका छन् ।


शनिवार काठमाण्डौको अष्टनारायण हलमा पुगेका आर्यन र साम्राज्ञीसँग तस्बिर खिचाउनेको भिड नै नै लागेको थियो । अष्टनारायणको हजार सिट संख्याको हल दिउँसो २ बजे हाउसफुल भएको थियो ।

मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले फिल्म नै रोकेर दर्शकलाई अभिभावदन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका थिए । अभिनेता-अभिनेत्री फिल्म हेर्ने दर्शकको उपस्थिति देखेर दंग देखिन्थे ।

शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले चलचित्र हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे ।

यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका चलचित्रहरुभन्दा उच्च रहेको दाबी गरेका छन् ।


उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu