हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) को बिहीवार जन्मदिन परेको छ । बिहानैदेखि विभिन्न माध्यमबाट उनलाई शुभकामना दिनेको ओहिरो लागेको छ ।
तीनवटा बस्ती निर्माण, वीर अस्पतालको रंगरोगन पश्चात् चाँडै नमुना नेपाल र क्रिकेट रंगशाला बनाउन लागेका उनी चलचित्र निर्माणमा पनि होेमिदैछन् । चलचित्रको नाम ‘एन्टिभाइरस’ राखिएको छ । उक्त चलचित्रलाई कञ्जना घिमिरे (सुन्तली) ले निर्देशन गर्ने चर्चा छ ।
बिहीवार रेडियो अडियाको आँगनमा ‘धुर्मुस’ ले आफ्नो जन्मदिनको केक काटे । उनको साथमा कुञ्जना पनि थिइन् । केक काट्नु अगाडि ‘धुर्मुस-सुन्तली’ ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै देश र जनताका लागि आफूहरु सधैं लागी पर्ने बताए । कुञ्जनाले सिताराम आफ्नै लागि जन्मिएको बताइन् ।
सिताराम (धुर्मुस) ले आफूले घोषणा गरेका परियोजना अर्को वर्षभित्र पूरा गरेरै छाड्ने बताए । उनको जन्मदिनमा चलचित्र घोषणा गर्ने चर्चा थियो । तर, गरिएन । आखिर किन ? ‘अलि हतार हुन्छ कि भन्ने लागेर हो । अझै हामी सुरुवाती चरणमा नै छौं । केही दिन अझै होमवर्क गर्न बाँकी छ’, उनले भने ।
उनले चलचित्रमा ‘धुर्मुस-सुन्तली’ को अभिनय रहने गोप्यता भने भंग गरे । चलचित्रमा युवा स्टार प्रदीप खड्काको अभिनय रहने चर्चा सिनेवृतमा छ । यसबारे भने उनले बोल्न चाहेनन् । धुर्मुसले भने, ‘बाँकी को-को कलाकार हुनेछन् त्यसको अझै फाइनल भइसकेको छैन ।’
उनलाई जन्मदिनको शुभकामना दिन केदार घिमिरे (माग्ने बुढा) पनि पुगेका थिए । उनले जन्मदिनको शुभकामना दिने क्रममा संघर्षका दिन सम्झिए । केही वर्षयता सितारामसँग सम्बन्ध ठिकठाक नभएको कुराको पनि उनले खण्डन गरे ।
उनले भने, ‘हामी मिल्ने साथी हौं । पहिला जस्तो सम्बन्ध थियो अहिले पनि त्यस्तै छ ।’ उनको कुरामा धुर्मुसले पनि ल्याप्चे लगाए । फिल्ममा माग्ने बुढा अट्ने सम्भावना कति छ ? पत्रकारको प्रश्नमा कुञ्जनाले जवाफ दिइन्, ‘उहाँले ‘छक्का पञ्जा’ टीमको मात्र फिल्म गर्छु भन्नुभएको छ । हाम्रो चलचित्र कहाँ गर्नुहुन्छ होला र ?’
केदारले फिल्म नगरे पनि आफ्नो सधैं साथ-सहयोग रहने बताए । ‘हामी सँगै काम नगरे पनि एकअर्कालाई आवश्यक परेको खण्डमा सधैं हाजिर हुन्छौं । मित्रता दिगो बनाउन र देखाउनका लागि सँगै काम गर्नु पर्छ भन्ने छैन’, उनले भने ।
केदारले चलचित्र निर्माणको शुभकामना दिँदै सिताराम कट्टेलाई सुझाव पनि दिन भ्याए । उनले भने, ‘यहाँ चलचित्र बनाउन गाह्रो छ । त्यो भन्दा गाह्रो चलाउन हुन्छ । राजनीति त अहिले फिल्म क्षेत्रमा सबैभन्दा बढी हुन्छ । यसकारण राजनीति बुझेर मात्र चलचित्रमा आउनुस् ।’