
काठमाडौं – नयाँ वर्षको शुभ अवसर पारेर निर्देशक जौन योन्जनले आफ्नो आगामी चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ निर्माणको औपचारिक घोषणा गरेका छन्। मानव मनोविज्ञान, आस्था र सामाजिक यथार्थको सेरोफेरोमा निर्माण हुन लागेको यस चलचित्रले समाजमा जरा गाडेर बसेको विश्वास र त्यसमाथि उब्जिने शंकाको द्वन्द्वलाई मुख्य विषयवस्तु बनाएको छ।
चलचित्रको विषयवस्तुबारे संकेत गर्दै निर्देशक योन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक विचारोत्तेजक भनाइ सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “विश्वास र शंकाको बीचमा एउटा ठूलो प्रश्न – भगवान छ? यदि छ भने, के छ त त्यसको ग्यारेन्टी?” उनले हरेक शंकाभित्र एउटा सत्य लुकेको हुने र हरेक विश्वासभित्र एउटा कथा हुने उल्लेख गर्दै हाम्रै समाजको यथार्थलाई एउटा नितान्त फरक दृष्टिकोणबाट प्रस्तुत गर्न आफ्नो टिम तयार रहेको बताएका छन्। यस भनाइले चलचित्र परम्परागत धारभन्दा माथि उठेर धार्मिक आस्था र तर्कबीचको मनोवैज्ञानिक पाटोलाई खोतल्न केन्द्रित हुने प्रस्ट पार्छ।
निर्देशक जौन योन्जन नेपाली चलचित्र क्षेत्रमा गम्भीर, यथार्थपरक र फरक धारका कथाहरू पर्दामा उतार्न रुचाउने सर्जकको रूपमा चिनिन्छन्। यसअघि उनले स्मिता लामिछानेसँगै पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेकोतल्लो वर्गको संघर्ष र मानवीय संवेदनालाई सूक्ष्म रूपमा प्रस्तुत गर्दै ‘आँखा’ नामक चलचित्र निर्देशन गरेका थिए। त्यसैगरी, उनको निर्देशन रहेको अर्को चलचित्र ‘रोल नं १’ पनि प्रदर्शनको तयारीमा छ। आफ्ना अघिल्ला सिर्जनाहरूमा जस्तै यसपटक पनि उनले समाजको एउटा गहन र संवेदनशील विषयलाई सिनेमाटिक पर्दामा ल्याउने जमर्को गरेका हुन्।
चलचित्रको नाम नै निकै कौतूहलपूर्ण र प्रश्नवाचक रहेकाले दर्शक तथा समीक्षकमाझ यसले सुरुवाती चरणमै ठूलो चासो बढाएको छ। यस प्रोजेक्टमा स्मिता लामिछाने निर्माताको रूपमा रहनेछिन्। यसमा अभिनय गर्ने कलाकारहरूको लाइनअप, छायांकन तालिका र अन्य प्राविधिक टोलीका बारेमा भने निर्माण पक्षले हालसम्म कुनै विस्तृत जानकारी बाहिर ल्याएको छैन। यद्यपि, नयाँ वर्षको सुरुवातसँगै गरिएको यो अर्थपूर्ण घोषणाले नेपाली चलचित्र वृत्तमा एउटा नयाँ स्वाद र बौद्धिक बहस छेड्ने सिनेमा आउने अपेक्षा भने जगाएको छ।


