
काठमाडौं – नेपाली रजतपटमा निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा लोकप्रिय अभिनेत्री केकी अधिकारी ‘महारानी’को भूमिकामा अनुबन्धित भएकी छन्। तीन दिनअघि मात्रै आफ्नो होम प्रोडक्सनको चलचित्र ‘स्टेसन’ निर्माणको घोषणा गरेकी केकीलाई ‘महाराजधिराज’को निर्माण पक्षले भित्र्याएको हो। उनको प्रवेशसँगै चलचित्रको कलाकारहरूको ‘लाइनअप’ थप मजबुत र आकर्षक बनेको छ। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत ‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम्’ भन्दै उनको उपस्थिति र हौसलाप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन्।
यसअघि नयाँ वर्षको अवसर पारेर निर्माण टोलीले अभिनेता पुष्प खड्कालाई चलचित्रको मुख्य भूमिका (राजा) का लागि अनुबन्ध गरेको थियो। लामो समयदेखि यस चलचित्रमा राजाको भूमिका कसले निभाउला भन्ने सर्वत्र चासो र कौतूहलता थियो, जसलाई निर्माण पक्षले पुष्पको नाम र क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै मेटाएको थियो। सार्वजनिक पोस्टरले चलचित्र थ्रिलर वा पिरियड ड्रामा हुन सक्ने बलियो झल्को दिएको छ। रोचक कुरा त के छ भने, अभिनेता खड्काले यस चलचित्रको सम्झौता पत्रमा आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएका थिए।
निर्देशक परिच्छेद सेनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको यस चलचित्रको कथा पनि सेन स्वयंले नै लेखेका हुन्। पुरानो र नयाँ पुस्ताका कलाकारहरूको सानदार सम्मिश्रण रहने यस चलचित्रमा पुष्प र केकीका अलावा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेल जस्ता चर्चित अनुहारहरू पर्दामा देखिनेछन्। यसबाहेक अन्य करिब ८० जना कलाकारहरूले पनि यसमा अभिनय गर्ने निर्माण पक्षले जनाएको छ। प्रस्तुतकर्ता विष्टले यो शक्तिशाली स्टारकास्टले नै चलचित्रको सबलता प्रमाणित गर्ने दाबी गरेका छन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन यही वैशाखको दोस्रो सातापछि सुरु हुने कार्यतालिका छ। सुनसरीको श्रीलंका टापुबाट सुरु हुने सुटिङ राजधानी काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा मनोरम स्थलहरूमा गरिनेछ। नवराज थापाको छायांकन रहने यस प्रोजेक्टमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माताका रूपमा रहेका छन्। सबै तयारी तीव्र रूपमा अघि बढाइरहेको निर्माण टोलीले यस चलचित्रलाई आगामी बडादशैंको फूलपातीका दिन देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।


