‘छक्का पञ्जा ३’ को बम्पर ओपनिङ, सबैतिर हाउसफुल



दशैंको छेको पारेर बुधबारबाट देशैभर प्रदर्शनमा आएको बर्ष २०७५ कै बहु-प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ ले बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन सिंगल र मल्टिप्लेक्स स्कृनमा फिल्म हेर्ने दर्शकको चाप अत्याधिक देखिएको छ ।

राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सोज उपलब्ध गराएको थियो । जसमध्ये अधिकांश सोज बिहानैदेखि हाउसफुल रहे । काठमाडौं वितरक उज्जवल पौडेलले ‘छक्का पञ्जा ३’ ले बम्पर ओपनिङ गरेको बताएका छन् । ‘सिंगल होस् वा मल्टिप्लेक्स, चलचित्र जताततै हाउसफुल छ’, उनले भने ।

उनका अनुसार, बिहानदेखि साँझसम्म उपत्यकामा फिल्मको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको छ । ‘दुई सिरिजभन्दा ‘छक्का पञ्जा ३’ ले राम्रो कलेक्सन गरेको छ’ वितरक पौडेलले भने, ‘पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ ।’ चलचित्रको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ ।


मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण मुभिजका ४ वटा पर्दा बुधबार बिहानी शोमा हाउसफुल भएका थिए । दिउँसो झन् दर्शकको चाप बढेको हल सञ्चालकले जानकारी दिएका छन् । अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा पनि बिहानैदेखि दर्शकको उपस्थितिमा कमी आएन । चलचित्र हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् ।

सिंगल स्कृन जस्तै मल्टिप्लेक्समा पनि चलचित्रको विजनेस उत्कृष्ट पाइएको छ । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड छ । जानकारीमा आएअनुसार चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

हाँस्य जनराको चलचित्र हेर्ने दर्शकले राम्रो भन्दै गर्दा ‘गुड वर्ड अफ माउथ’ ले बिहीबारदेखिको विजनेसमा फाईदा पुग्ने देखिएको छ । लेखक तथा कलाकार दीपकराज गिरीले दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको बताए । उनले भने, ‘यसअघि हामीले ८० प्रतिशत कमेडी र २० प्रतिशत मात्र कन्टेन्टमा काम गरेका थियौं । यसपटक ५०/५० गरेर कन्टेन्टलाई बढी जोड दिएका छौं । त्यसलाई दर्शकले रुचाइदिनुभएको छ ।’

‘छक्का पञ्जा ३’ को ‘ओपनिङ डे’ कलेक्शनले नै हालसम्मको सबै चलचित्रको रेकर्ड ब्रेक गर्ने अनुमान छ । चलचित्रले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ । पहिलो दिन चलचित्र हेर्ने दर्शक १६-३० वर्ष उमेर समुहका बढी देखिएका छन् ।

दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu