फर्स्टलुक पोस्टरसँगै ‘समर लभ’ को प्रदर्शन मिति घोषणा



सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको चलचित्र ‘समर लभ’ को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र माघ २५ गते हलमा लाग्ने भएको छ । सार्वजनिक पोस्टरमा भने चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् ।

चलचित्रबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् । फ्लोरमा निस्किएको लगभग एक वर्षपछि उक्त चलचित्र प्रदर्शनमा लागि तयार भएको हो ।

निर्देशक ढकालले विदेशको सुटिङ र चलचित्रमाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । ‘किताबको हाइप पूरा गर्न पनि चलचित्रमा धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको चलचित्र पस्कन तयार छौं’, ढकालको भनाइ छ ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रको सम्पादक अर्जुन जिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu