बोर्ड अध्यक्ष भट्टराईले गरे पदभार ग्रहण



चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो नवनियुक्त अध्यक्ष भट्टराईले पदभार ग्रहण गरेका हुन् । उनलाई बधाई तथा शुभकामना दिन दर्जनौं फिल्मकर्मीहरु बोर्ड पुगेका थिए । पदभार ग्रहण गरेलगत्तै उनले फिल्म क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले बोर्डमा आफू राजनीतिक कार्यकर्ताको रुपमा नरहने पनि बताए । नेपाली फिल्म क्षेत्रका कुनै पनि संघ-संस्थामाथि आफ्नो हस्तक्षेप नरहने पनि उनले स्पष्ट पारे । भट्टराईले आफूले सरकारसमक्ष १६ वटा बुँदाहरु प्रस्तुत गरेकोमध्ये केही महत्त्वाकांक्षी कार्ययोजना राखेको र त्यो तत्काल सार्वजनिक नगर्ने बताए । ‘केही दिनमा मेरा केही कार्ययोजनाहरु सार्वजनिक गर्नेछु’, उनले भने ।


‘राष्ट्रिय चलचित्र नीति २०७१’ पारित गर्न पहल गर्ने बताउँदै उनले भने- ‘अड्किएर बसेको राष्ट्रिय चलचित्र नीति पूर्ण रुपमा कार्यान्वयन गर्न म कटिबद्ध भएर लाग्नेछु र त्यसको चाँडै अनुभूती पनि गर्न सक्नुहुनेछ । अहिले टट्कारो रुपमा रहेको बक्स अफिस कार्यान्वयन गर्न पनि म कुनै कसर बाँकी राख्दिनँ ।’ उनले २ वर्षदेखि अडिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ चाँडै प्रदान गरिने पनि बताए ।

फिल्मकर्मीले खोजेको बक्स अफिस लगाउन भोलीबाट लाग्ने बताउँदै उनले अगाडि भने- ‘बक्स अफिसले कसैलाई पनि घाटा गर्दैन । कम्तिमा हामी पारदर्शी रुपमा अगाडि बढ्नेछौं । यसले निर्मातादेखि हल सञ्चालक, वितरक र राज्यलाई समेत फाइदा गर्छ । त्यसैले बक्स अफिस लागू गर्नमा कसैले असहयोग गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । र, चाँडै बक्स अफिसलाई कार्यान्वयन गराउँछौं ।’

उनले काठमाडौं उपत्यकाभित्र सुविधा सम्पन्न फिल्म स्टूडियो निर्माणका लागि पनि आफूले सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । उनले आफूले चुनौतीका ठूला भारहरु काँधमा बोकेर आएको र त्यसलाई पूरा गर्ने कुनै कसर नछाड्ने बताएका छन् । आफ्नो अत्याधिक समय विकास बोर्डलाई दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu