चलचित्र विकास बोर्डका अध्यक्ष तथा शुक्रवारबाट हलमा प्रदर्शनरत चलचित्र ‘यात्रा’ का निर्माता समेत रहेका केशव भट्टराईले आफ्नो कामले नभई वितरकका कारण ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ जुधेको बताएका छन् । चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका चलचित्र हिटलाई हिट र फ्लपलाई फ्लप भनेको पनि बताए ।
उनले आफ्नो चलचित्रको व्यापार पारदर्शी रुपमा देखाउने पनि वाचा गरे । ‘यात्रा’ को पारदर्शी व्यापार देखाउनु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘चलचित्रमा लगानी मेरो हुन्छ । पैसा मेरो डुब्छ । अनि मेरो पैसा डुब्यो भन्न किन डराउने ? कमाउँदै नकमाएको चलचित्रले २ करोड कमायो भनेर म भन्दिनँ । ढुक्क हुनुहोस् ‘यात्रा’ को व्यापार पारदर्शी रुपमा आउँछ ।’
उनले आउँदो साउनभित्रमा देशभर बक्सअफिस परिक्षण गर्ने पनि बताएका छन् । देशभर बक्सअफिस कार्यन्वयन भएपछि चलचित्र विकास बोर्डले मिडियालाई फिल्मको वास्तविक व्यापार देखाउने पनि उनले आश्वासन दिलाए । उनी भन्छन्, ‘सबै मिडियाको हात-हातमा फिल्मको व्यापार त दिन सकिन्न । यद्यपि, लिखित रुपमा कुनै चलचित्रको व्यापार बुझ्न चाहेको खण्डमा बोर्डसहित चार ठाउँबाट पाउन सकिनेछ ।’ वर्षौदेखि वितरक र निर्माताको दिएको चलचित्रको व्यापारलाई मिडियाले सत्य मान्नुपर्ने अवस्था छ ।
शनिबार आफ्नो चलचित्र ‘यात्रा’ का लागि ठूलो हल उपलब्ध गराउनका लागि सरकारी गाडी दुरुपयोग गरेर हल-हल पुगेको भन्दै अहिले उनको चर्को आलोचना भइरहेको छ । आफ्नो चलचित्रलाई हल उपलब्ध गराउनका लागि नभई बक्सअफिस अनुगमनका लागि सञ्चार मन्त्रालयबाट अनुमती लिएरै सरकारी गाडी प्रयोग गरेको उनको भनाई छ । चलचित्र निर्माता, वितरक, प्रदर्शक र पत्रकारहरु इमान्दरपूर्वक लाग्ने हो भने फिल्म क्षेत्रको रुप कायापलट हुने पनि उनले विश्वास व्यक्त गरे ।