शुक्रबारबाट अभिनेता आर्यन सिग्देलले अभिनेत्रीी मिरुना मगरँग रोमान्स गरेको चलचित्र ‘च च हुई’ देशभर प्रदर्शनमा आएको छ । साम्तेन भुटिया निर्देशित चलचित्रमा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रका निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई चलचित्रमा देखाइएको छ ।
शुक्रबार बिहान बानेश्वरको ‘वान सिनेमाज्’ मा चलचित्रको विशेष शो राखिएको थियो । जहाँ पत्रकार र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेर्न अभिनेता विराज भट्ट, सलोन बस्नेत, आमेष भण्डारी, हाँस्य कलाकारद्वय केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनियालगायत पुगेका थिए ।
दशक अगाडि अभिनेता आर्यनसँग चलचित्र ‘किस्मत’ मा सँगै काम गरेका अभिनेता विराजले ‘च च हुई’ निकै राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने- ‘चलचित्र हेरुन्जेल रमाइलो छ । मलाई सबैभन्दा कमेडी पञ्च मनपर्यो । साथै, सबै कलाकारहरुले उम्दा अभिनय गरेका छन् । दर्शकलाई चलचित्रले निराश बनाउँदैन ।’ विशेषगरि उनले अभिनेता आर्यनको अभिनयको प्रशंसा गरे ।

आर्यन आफ्नो मनपर्ने अभिनेता बताउँदै उनले अगाडि भने- ‘आर्यनको डेब्यू चलचित्र ‘किस्मत’ मा हामीले एकसाथ काम गरेका थियौं । त्यसबेला ऊ नयाँ भए पनि एकदमै राम्रो काम गरेको थियो । अहिले उसको अभिनयमा अझ धेरै परिपक्वता आएको महशुस गरेँ ।’ उनको छेवैमा रहेका अभिनेता आर्यनले पनि आफ्नो सबैभन्दा मनपर्ने अभिनेता विराज भट्ट रहेको खुलाए ।
आफूहरु एकअर्कासँग निकै मिल्ने बताउँदै उनले अभिनेता भट्टलाई नयाँ चलचित्र ‘साङ्लो’ का लागि शुभकामना दिँदै पुनः सहकार्यको सम्भावनाबारे भने, ‘विराज दाईसँग फेरि टिमअप हुनसक्छ । हामी दुबै कमर्शियल जनरा मन पराउँछौं । राम्रो स्क्रिप्टबाट अफर आए टाइअप हुन्छ ।’ ‘साङ्लो’ का लागि विराज भट्टले गरेको मेहेनतको आफूले धेरै तारिफ सुनेको उनले बताए ।
विराज पनि आर्यनसँग टिमअपको सम्भावना रहेको बताउँछन् । तर, त्यसका लागि राम्रो कथावस्तुको चाहिने उनको कथन छ । आर्यनको कुन गुण तपाईं आफूमा पाउनुहुन्न ? पत्रकारको प्रश्नमा विराजले भने- ‘ऊ एकदमै राम्रो रोमान्स गर्छ । र, उसलाई त्यो सुहाउँछ पनि । त्यो गुण ममा छैन ।’ आर्यन भने आफू कहिल्यै विराज भट्टको जस्तो एक्सन गर्न नसक्ने बताउँछन् ।
भिडियो :-




