माघ २४ मा आउने भयो विराजको ‘साङ्लो’



‘एक्सन स्टार’ को उपाधि पाएका अभिनेता विराज भट्टको डेब्यू निर्देशित चलचित्र ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ छ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो चलचित्रको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो चलचित्रको केही दिनमा पहिलो गीत सार्वजनिक हुँदैछ । चलचित्रले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो चलचित्र विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि चलचित्र विवादमा घेरिएको थियो ।

चलचित्रमा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले चलचित्र ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘जय परशुराम’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu