मंसिर १३ गतेलाई प्रदर्र्शन मिति घोषणा गरिएको एक्सन-लभस्टोरी जनरामा निर्मित चलचित्र ‘सरौतो’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यो जुनी’ बोलको गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर छ । भने, गायक कमल स्वयंको शब्द तथा संगीत छ । हरि हुमागाईंको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता सन्नी सिंहसँग अभिनेत्री सुमी मोक्तान बोल्ड अवतारमा देखिएकी छन् ।
सुमी र सन्नीको प्रेम भाव बोल्ने गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग निर्देशक हरि हुमागाईंले बताए । थुपै नेपाली चलचित्र खिचिसकेका हुमागाईंले पहिलो पटक यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रमा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् । उत्तम हुमागाईंले चलचित्र खिचेका हुन् ।

बदलाको कथामा निर्मित चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय छ । चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं बताउँछन् । चलचित्रको यसअघि नै एक्सनले भरिएको ट्रेलर सार्वजनिक भैसकेको छ ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्मित चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र राजनराज सिवाकोटी/पुष्पन प्रधान/कमल खत्रीको संगीत छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी चलचित्रका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताउँछिन् ।
गीत हेर्नुहोस् :-




