झरना थापा निर्देशित सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँको दोस्रो चलचित्र ‘यात्रा’ गत वर्षको चैत अन्तिममा रिलिज भएको थियो । डेब्यू चलचित्रमा अभिनयको आलोचना खेपेका उनले दोस्रो चलचित्रमा केही हदसम्म तारिफ बटुले । तर, आफ्नै डेब्यू चलचित्रको तेस्रो सिरिजसँग जुध्दा चलचित्रले हलबाट लगानी उठाउन सकेन ।
‘यात्रा’ मा सलिनको एक्सनको निकै प्रशंसा भएको थियो । उनले अभिनयमा पनि धेरथोर निखारता ल्याएका थिए । तर, यो चलचित्रपछि उनले ६ महिना आराम गर्ने घोषणा गरे । ‘यात्रा’ रिलिजको ६ महिना वितिसकेको छ । अब, उनी नयाँ चलचित्र गर्ने सोचमा छन् । तर, अहिलेसम्म नयाँ चलचित्र साइन गरेका छैनन् । निर्माताहरु भने उनलाई चलचित्रमा लिन हानाथाप गरिरहेका छन् ।

अहिले फिल्मवृतमा सलिनमानले ‘यात्रा’ निर्देशक सम्राट शाक्यसँग पुनः टिमअप गर्न लागेको चर्चा छ । प्राप्त जानकारी अनुसार, निर्देशक शाक्यले सलिनलाई चलचित्रको स्क्रिप्ट सुनाइसकेका छन् । सलिन चलचित्र गर्न सकारात्मक रहेको बताइन्छ । निर्देशक शाक्यले सोमबार एक भेटमा बजारमा चलेको हल्लामा केही हदसम्म सत्यता रहेको बताए । तर, उनले अरु खुलाउन चाहेनन् ।
उनले भने, ‘चलचित्रको विषयमा सलिनसँग कुरा भएको अवश्य हो । तर, अहिलेसम्म कुनै टुंगो लागेको छैन ।’ ‘यात्रा’ मा निर्देशक शाक्यको निर्देशकिय क्षमताको चलचित्रकर्मी र दर्शकले प्रशंसा गरेका थिए । दर्जनौं चलचित्रमा चिफ असिस्टेन्टको रुपमा काम गरेका उनको यो डेब्यू चलचित्र थियो । पुनः सलिन र सम्राटबीच सहकार्य भए दुईको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुनेछ ।




