स्वस्तिमाको ‘चपली हाइट ३’ चैत २८ मा



निकेश खड्काको निर्देशनमा बनिरहेको यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने यो चलचित्र आउँदो चैत २८ गते प्रदर्शन हुने निधो भएको छ । यसको जानकारी चलचित्रका निर्माता अर्जुन कुमारले दिएका हुन् ।

अब, यो फिल्मको बक्सअफिसमा चलचित्र ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । गएको ६ महिना अगाडि नै यो चलचित्रले चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । निर्माता अर्जुन कुमारले एक भिडियो सन्देशमार्फत् भनेका छन्, ‘समयमा नै चलचित्र भ्याउन सक्दैनौं कि भन्ने डरले यसअघि नै रिलिज डेट घोषणा गरेका थिएनौं । अब चलचित्र चैत २८ मा आउनेछ ।’

निर्देशक खड्काले चलचित्र रिलिजका लागि चैत २८ उपयुक्त मिति भएको बताएका छन् । गएको पाँच दिनदेखि चलचित्रको धमाधम छायांकन भैरहेको छ । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताउँछन् । तर, चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । चलचित्रको एक महिनाको सुटिङ सेड्युल राखिएको छ ।

नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu