मंसिर १३ बाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको एक्सन प्रधान चलचित्र ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तानले प्रमुख भूमिका निभाएकी छन् । सन् २०१२ की ‘मिस तामाङ’ समेत रहेकी उनले यसअघि ‘झ्यानाकुटी’, ‘दुई रुपैयाँ’ लगायतका केही चलचित्रमा केमियो भूमिकामा काम गरे पनि लिड रोलमा ब्रेक पाएको यो पहिलो चलचित्र हो । यसकारण यो चलचित्र उनका लागि विशेष छ ।
अमेरिकामा मनोविज्ञान विषय पढेर नेपाल फर्किएकी सुमीले हरि हुमागाईं निर्देशित चलचित्र ‘सरौतो’ मा फरक क्षमता भएको महिलाको भूमिका निभाएकी छन् । चलचित्रमा उनले बोलेको संवाद सुन्न पाइने छैन । उनले सांकेतिक भाषाको माध्यमबाट संवाद बोलेकी छन् । यसकारण पनि यो चलचित्रमा निर्वाहा गरेको भूमिका उनका लागि चुनौतीपूर्ण थियो ।

उक्त चलचित्रले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा उनी विश्वस्त छन् । ‘सरौतो’ मा एक्सन अवतारमा प्रस्तुत भएकी उनले यसका लागि आफूले निकै मेहेनत गरेको बताउँछिन् । उनी भन्छन्, ‘मैले दुई वर्ष यही चलचित्रका लागि खर्चिएको छु । एक्सनमा आफूलाई तयार पार्न डेढ वर्ष मार्सल आर्टको तालिम लिएँ । सात महिनासम्म सांकेतिक भाषा पनि सिकेको थिएँ ।’
यस चलचित्रका लागि दुई वर्ष खर्चिँदा आफूले थुप्रै प्रोजेक्ट गुमाउनु परेको उनी सुनाउँछिन् । थोरै चलचित्र गर्ने तर चलचित्र क्षेत्रमा एक प्रकारको छाप छाड्ने दृढ संकल्प बोकेकी सुमी ‘सरौतो’ मा आफ्नो अभिनय र भूमिकालाई दर्शकले रुचाउनेमा विश्वस्त छिन् । चलचित्रमा उनले अभिनेता सन्नी सिंहसँग रोमान्स गरेकी छन् । उनको पिताको भूमिकामा कलाकार विजय लामा छन् ।
लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो चलचित्र बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको हो । बदलाको कथामा निर्मित चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । उत्तम हुमागाईंले चलचित्र खिचेका हुन् ।


