सौगात स्वीकार्छन्- ‘हो, मैले धेरै चलचित्र गरिरहेको छु’



नेपाली चलचित्रको नक्शा नै परिवर्तन गरेको निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ मा निर्वाहा गरेको ‘हाकु काले’ को चरित्रले अभिनेता सौगात मल्ललाई रातारात चम्कायो । नेपाली चलचित्रमा ‘हिरो’ को पुरानो मानक भत्काउँदै जस्तजस्ती प्रवेश गरेका उनलाई हरेक भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छ । ‘लुट’ पछि उनले केही चलचित्रमा फरक-फरक भूमिका निभाए ।

तर, आजभोली उनी अभिनीत चलचित्र प्रायः एकैखाले लाग्छन् । न भूमिकामा फरकपन छ न त अभिनयमा विविधता । अचेल उनले चलचित्रमा निभाउने हरेक चरित्र ‘हाकु काले’ को ह्याङओभरबाटै ग्रसित देखिन्छन् । त्यस्तै, प्रायः चलचित्रमा उनको अभिनय ‘लाउड’ हुने हुन्छ । तर, उनलाई आफूले एकैखाले भूमिका गरिरहेको पटक्कै लाग्दैन । न त उनलाई ‘लाउड’ अभिनय गरेकै थाहा हुन्छ रे ।

पत्रकारसँगको एक भेटमा उनले भने, ‘दर्शक र समीक्षकले भनेपछि मात्र मलाई यसमा ‘लाउड’ अभिनय गरेछु भन्ने थाहा हुन्छ । नत्र यो कुरा म आफैंलाई कहिल्यै थाहा हुँदैन । न त म कुनै चलचित्रमा ‘लाउड’ अभिनय गर्छु भनेर नै गर्छु । ‘लुट’ मा पनि मलाई जसरी भनियो त्यसरी नै अभिनय गरेको थिएँ । पछि समीक्षकले भनेपछि थाहा भयो कि मेरो ‘लाउड’ अभिनय रहेछ ।’

जबसम्म स्क्रिनप्ले राम्रो हुँदैन तबसम्म चलचित्र राम्रो नबन्ने सौगातको तर्क छ । उनलाई लाग्छ स्क्रिनप्ले राम्रो नभएसम्म कुनै एक सिन हिट भए पनि चलचित्र कदापी राम्रो बन्दैन । उनी अगाडि भन्छन्, ‘स्क्रिनप्ले राम्रो छ भने सामान्य मान्छेको जीवनमाथि बनाइएको चलचित्र पनि राम्रोे हुन्छ । नभए, एउटा कलाकारले जति नै ज्यान दिएर अभिनय गरे पनि चलचित्र राम्रो हुँदैन ।’

भर्सटायल अभिनेताको छवि बनाएका सौगातले केही वर्षयता गुणस्तरिय कम तर संख्यात्मक रुपमा धेरै चलचित्र गरेका छन् । यो कुरा उनी स्वयं पनि स्वीकार गर्छन् । ‘हो, मैले धेरै चलचित्र गरिरहेको छु । तर, केही चलचित्र रिलिज हुन बाँकी भएका कारण म १० महिनासम्म खाली पनि बसेँ । तर, ती चलचित्र कहिलेसम्म कुरेर बस्नु भनेर फेरि चलचित्र गर्न सुरु गरेको हुँ,’ उनी सुनिए ।

उनको नयाँ चलचित्र ‘माछा माछा’ यही मंसिर २० गतेबाट प्रदर्शन हुँदैन । यसमा उनले अभिनेत्री नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन् । पछिल्ला सबै चलचित्र बक्सअफिसमा पिटिएपछि निराश भएका सौगात यो चलचित्रमाथि ठूलो आश रहेको बताउँछन् । ‘टिम र स्क्रिप्ट दुबै राम्रो भएपछि फिल्म गरेको हुँ । चलचित्रले उठाएको विषयवस्तुले दर्शकलाई मनोरञ्जन दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu