एकपछि अर्को चलचित्रबाट बक्सअफिसमा सफलताको झण्डा गाँडेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ ले सफलताको मानक मानिने प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको छ । यो चलचित्रले राजधानीका ६ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको निर्माण टिमले जानकारी दिएको छ ।
विएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकुष्ण मुभिज, अष्टनारायण, गुण र गंगामा चलचित्रले प्रदर्शनको ५१औं दिन मनाएको हो । असोज २४ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रको सफलताको श्रेय निर्माण टिमले दर्शकलाई दिएको छ । दीपक-दीपाको समुहले निर्माण गरेका पछिल्ला सबै चलचित्रले हलमा सफलतापूर्वक प्रदर्शनको ५१औं दिन मनाएका छन् ।

यस वर्षको सर्वाधिक ग्रसर चलचित्र बनेको ‘छ माया छपक्कै’ ले ५१औं दिनसम्म १४ करोडको आँकडा पार गरेको जानकारी प्राप्त छ । तर, यसको पुष्टि निर्माता र वितरक कम्पनीले गरेको छैन । बलिउड चलचित्र ‘वार’ का कारण प्रदर्शनको समयमा यो चलचित्रले मल्टीप्लेक्समा न्यून सोज पाएको थियो । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि चलचित्रले दर्शकको ठूलो भीड आफूतिर तान्यो ।
अहिले ‘छ माया छपक्कै’ को विदेशमा चर्को माग छ । चलचित्रका निर्माताले प्रदर्शन अगावै ओभरसिज राइट्सबाट आधाभन्दा बढी लगानी उठाइसकेका थिए । भने, प्रदर्शनको पहिलो हप्तामा नै चलचित्रले घरेलु बजारबाट लगानी रिकभर गरेको थियो । दोस्रो पटक सफलता चुमेका निर्माता रोहित अधिकारीले यसअघि अभिनेता अनमोल केसीलाई लिएर ‘गाजलु’ बनाएका थिए ।
‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा राजनीतिक पृृष्ठभूमिमा प्रेम बुनिएको छ । पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।




