विपिनको ‘सेल्फी किङ’ टिजर रिलिज (भिडियो)



विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ’ को टिजर सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया बटुलेपछि निर्माण टिमले चलचित्रको टिजर यूट्युबमा रिलिज गरेको हो । यसमा सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारको रवाफ र आउटडेटेड भइसकेपछिको अवस्थालाई चित्रण गरिएको छ ।

१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरभरी अभिनेता विपिन कार्की मात्र देखिएका छन् । उनी चलचित्रमा हाँस्यकलाकारको भूमिकामा छन् । टिजरमा उनले बोलेको एउटा घतलाग्दो संवाद छ, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यानो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनमा जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ ।’

‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्छ । आउँदो माघ २४ मा प्रदर्शनमा आउने यस चलचित्रमा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ ।

ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । गत वर्षको व्यवसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउतले यही चलचित्रका निर्माता सुवास थापासँग मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।

चलचित्रमा अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् । ‘सेल्फी किङ’ मा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । अभिनेत्री भुवनले विपिनको आमाको भूमिका निभाएकी छन् । चलचित्रका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् । टिजर र यसअघि सार्वजनिक पोस्टरमा देखिएको विपिनको भिन्न लुक्सले चलचित्रलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu