भर्सटायल अभिनेताको रुपमा चिनिएका अभिनेता दयाहाङ राईले निर्माण गरेको चलचित्र ‘माछा माछा’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले उनलाई लगानीमा सघाएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम कमेडी चलचित्रमा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ केन्द्रिय भूमिकामा छन् ।
चलचित्रमा अभिनेता दयाहाङ अतिथी भूमिकामा छन् । भोक-निन्द्रा माया मारेर फिल्मबाट कमाएको पैसा लगानी गरेको चलचित्रमा किन उनी आफैं लिड रोलमा देखिएनन् ? धेरैको मनमा जिज्ञासा छ । अहिले ‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र सुब्बाको डेब्यू निर्देशनमा बनिरहेको चलचित्रको छायांकनमा व्यस्त दयाहाङले आफू कथामा फिट भएकाले काम नगरेको बताएका छन् ।

उनी भन्छन्, ‘निर्देशक (सुनिल गुरुङ) ले कथा सुनाउँदा नै यो क्यारेक्टरमा यी पात्र फिट हुन्छन् र यी भए मात्र चलचित्र बनाउन सकिन्छ भन्नुभएको थियो । हामीले त्यही अनुसार पात्र चयन गर्यौं । म चलचित्रको कथामा फिट थिइनँ । त्यसैले मलाई यो चलचित्र खेल्नै पर्छ भन्ने लोभ जागेनँ । एउटा कलाकार लोभी त हुन्छ तर फिट नभएको ठाउँमा जबरजस्ती काम गर्नुको कुनै औचित्य हुन्न ।’
चलचित्रको कथा राम्रो लागेर लगानी गरेको उनको भनाई छ । करोडौं कमाउने लोभमा आफूले चलचित्रमा लगानी नगरेको उनी बताउँछन् । ‘यो एउटा चलचित्र मेकिङको प्राक्टिस हो । युवा साथीबीचको टिमवर्कले सकारात्मक सन्देश प्रवाह गरोस् भन्ने उद्येश्यले ‘माछा माछा’ मा काम गरेका हौं । करोडौं कमाउने लोभ छैन । तर, लगानी डुब्दैन भन्नेमा विश्वस्त छौं,’ उनले भने ।
तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित भएर बनेको ‘माछा माछा’ को कथा निर्देशक सुनिल स्वयंले लेखेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।




