प्रिमियरमा ‘माछा माछा’ लाई मिल्यो यस्तो प्रतिक्रिया (भिडियोसहित)



यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई निर्मित क्राइम-कमेडी चलचित्र ‘माछा माछा’ को प्रिमियर गरिएको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका चिर-परिचित अनुहारले चलचित्रका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् ।

चलचित्र हेर्न प्रिमियरमा पुगेका ‘साइँली’ फेम्ड अभिनेता गौरव पहारीले कलाकारको अभिनय सबैभन्दा मन परेको बताए । ‘माछा माछा’ मा अतिथी भूमिकामा देखिएका उनले भने, ‘निर्देशक सुनिल गुरुङको निर्देशकिय क्षमता र लेखन पाटो राम्रो लाग्यो । त्यस्तै, हरेक कलाकारले उम्दा अभिनय गरेका छन् । सौगात (मल्ल) दाई चलचित्रको मेरुदण्ड हुनुहुन्छ । उहाँको काम जबरजस्त छ ।’

कलाकार बुद्धि तामाङलाई भने चलचित्रको कमेडी पाटो गजब लागेछ । ‘मलाई कलाकारको अभिनय र कमेडी पार्ट मनपर्‍यो । पात्र अनुरूपका ‘पञ्चलाइन’ निकै रसिला छन् । चलचित्रमा सिचुएसन कमेडी छ । हेरुन्जेल चलचित्रले मज्जाले मनोरञ्जन दिन्छ,’ उनले भने । अभिनेत्री मिरुना मगरले पनि चलचित्र राम्रो बनेको बताउँदै कलाकारको अभिनय सबैभन्दा मन परेको बताइन् ।

‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीतमा प्रेमी सौगात मल्लसँग ठुम्का लगाएकी अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रको कमेडी पाटोमा आफू धेरै हाँसेको बताइन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । चलचित्र नयाँ कन्सेप्टमा बनेको छ ।’ प्रेमी सौगातको क्यारेक्टर आफूलाई नौलो र रमाइलो लागेको उनको भनाई छ ।

निर्देशक गुरुङले प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले खुसी महशुस भएको बताए । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न आफूले सम्पूर्ण प्रयास गरेको उनको भनाई छ । यो उनको डेब्यू निर्देशित चलचित्र हो । यस चलचित्रका निर्माता दयाहाङले आफूले सोचेको जस्तै चलचित्र बनेकोमा खुसी व्यक्त गरे । निर्देशकले स्क्रिप्टलाई दुरुस्तै पर्दामा उतार्न सफल भएको उनको भनाई छ ।

उनले भने, ‘स्क्रिप्ट सुन्दा जे कल्पना गरेको थिएँ त्यो पर्दामा सर्लक्क देखिएको छ । दर्शकलाई चलचित्रले भरपूर मनोरञ्जन दिनसक्छ भन्नेमा विश्वस्त छु । हामीले भिन्न चलचित्र बनाउन खोजेका होइनौं । यसको कन्टेन्ट पुरानै हो । तर, त्यसलाई भन्ने निर्देशक गुरुङको शैली मलाई गजब लाग्यो ।’ निर्माता रामबाबु गुरुङले पनि स्क्रिप्ट पढ्दा अनुमान गरिएको दृश्य पर्दामा देखिएको बताए ।

तीन बेरोजगार युवाको कथामा बनेको चलचित्र हो, ‘माछा माछा’ । चलचित्र का केन्द्रिय पात्र हुन्, सौगात मल्ल, विजय बराल र अनोज पाण्डे । राजधानीमा कोठा भाडामा लिएर बस्ने यी तीन युवाले पैसा कमाउन गर्ने दौडधुपमा चलचित्र घुमेको छ । ‘लुट’ फ्लेवरमा बनेको चलचित्रमा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ । चलचित्रमा सौगात र विजयको काम प्रशंसायोग्य छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu