म स्क्रिप्टमा चुजी छु : सलिनमान



चलचित्र ‘ए मेरो हजुर २’ ले अभिनेता सलिनमान बनियाँलाई रातारात स्टार बनायो । यसपछि उनले दोस्रो चलचित्रको रुपमा ‘यात्रा’ गरे, जुन गत वर्षको चैत अन्तिममा प्रदर्शनमा आएको थियो । डेब्यू चलचित्रमा अभिनयको आलोचना खेपेका उनले दोस्रो चलचित्रमा भने केही हदसम्म तारिफ बटुले । विशेषगरि उनको एक्सनको दर्शक र समीक्षकले प्रशंसा गरेका थिए । तर, चलचित्र भने चलेन ।

‘यात्रा’ रिलिजपछि उनले ६ महिना अभिनयबाट विश्राम लिने घोषणा गरेका थिए । यो चलचित्र प्रदर्शनमा आएको ६ महिना वितिसकेको छ तर उनले नयाँ चलचित्र साइन गरेका छैनन् । स्क्रिप्ट र चेक बोकेर निर्माता/निर्देशक उनको घर धाइरहे पनि सलिनलाई कुनै चलचित्रको स्क्रिप्ट चित्त बुझेको छैन । बजारमा ‘यात्रा’ निर्देशक सम्राट शाक्यसँग उनको पुनः टिमअप हुने चर्चा छ ।

लुक्स, हेयर स्टाइल र ड्रेसअपका कारण धेरैको ध्यान खिच्न सफल उनी आफू चलचित्र छनोटमा चुजी भएको बताउँछन् । हालै एक कार्यक्रममा भेटिएका उनले अहिले आफू राम्रो स्क्रिप्टको पखाईमा रहेको बताए । उनले भने, ‘अहिले जति पनि चलचित्रको स्क्रिप्ट आएको छ कुनैले मेरो मन छोएको छैन । स्क्रिप्ट राम्रो नलाग्दा नलाग्दै पर्दामा आउन ढिला भयो भनेर किन हतार गर्नु ?’

डेब्यू चलचित्रबाटै आफ्नो क्रेजलाई सस्तो बन्न नदिएका उनी आफूलाई पर्दामा हेर्न दर्शकले अझै केही समय प्रतिक्षा गर्नुपर्ने बताउँछन् । उनले भने- ‘म स्क्रिप्टमा चुजी छु । र, अहिले खासै राम्रो स्क्रिप्ट पनि आएको छैन । त्यसैले पर्दामा आउन हतार पनि गरेको छैनँ ।’ माइकल ज्याक्सनको नृत्य गर्ने शैलीबाट प्रभावित सलिन आफूलाई डान्सिङ चलचित्रबा गर्ने इच्छा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu