आउँदो मंसिर २८ गते चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । जसका लागि अहिले अध्यक्ष पदमा आठ जनाको नाम चर्चामा छ । निर्देशक दिनेश डिसी पुनः दोस्रो पटक तीन वर्षे कार्यकालका लागि चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा उठ्ने मनस्थितिमा रहेको जानकारी प्राप्त छ । तर, उनले उम्मेदवारी घोषणा भने गरेका छैनन् । यसअघि उनी २०७० सालमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
निर्देशक डिसीले अहिले आन्तरिक रुपमा आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ पनि दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उठ्ने तयारीमा छिन् । तर, उनले पनि उम्मेदवारी घोषणा भने गरेकी छैनन् । त्यस्तै, केपी पाठक, रक्षा सिंह राणा, लक्ष्मण रिजाल, दीपक खाँड, शेखर खनाल र ऋषि लामिछानेको नाम पनि अध्यक्ष पदका लागि चर्चा छ ।

चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व सम्हाल्न अध्यक्ष पदका लागि आठ जना निर्देशक आकांक्षी देखिए पनि शनिबार हुने निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी पर्नसक्ने कतिपयको विश्लेषण छ । त्यस्तै, उपाध्यक्ष पदमा निर्देशक राजेन्द्र उप्रेती उम्मेदवारी दिने तयारीमा छन् । भने, महासचिवमा जनकदीप पराजुली र समिर बलामीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
महासचिव पदमा उठ्न लागेका पराजुलीले आफ्नो उम्मेदवारी घोषणासँगै प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । उनले महासचिव पदमा निर्वाचित भए केही नीतिगत कुरामा परिवर्तन गरि निर्देशक समाजलाई अगाडि बढाउने, फिल्म अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीका लागि स्कलरसीप व्यबस्था गर्ने लगायतका बुद्धा उनको प्रतिबद्धता पत्रमा समेटिएको छ ।
चलचित्र निर्देशक समाजको सचिव पदमा भने जनक खड्का र अरुण प्रधानको भिडन्त हुने बताइएको छ । चलचित्र निर्देशकहरुको हकहितका लागि गठन भएको निर्देशक समाजले आजसम्म खासै उलपब्धिमुलक काम भने गर्न सकेको छैन । तीन वर्षमा नयाँ कार्यसमिति छान्नका लागि मात्र निर्देशक समाजको गठन भएको देखिन्छ । निर्देशकहरुका समस्या ज्यूँकात्यूँ छन् ।




