सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक भएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । सोनम तोप्देनलाई सुदर्शनले आफ्नो नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनेताको रुपमा डेब्यू गराउँदैछन् ।
गीतको अडियो र भिडियो दुबै गजब बनेको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर खिचिएको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । भने, पाँच सयभन्दा बढी कोरसले नृत्य गरेका छन् ।

सौरभ लामाले खिचेको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । यो गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा निर्माण टिम विश्वस्त छ । ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेलाई प्रदर्शनमा आउँदैछ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।
शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन चलचित्रका निर्माता हुन् । ‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज अगावै ‘स्योर सट हिट’ भनिन थालिएको छ । दोस्रो पटक पल र पूजाको जोडी पर्दामा हेर्न दर्शक निकै आतुर छन् । बनिश शाह र मिलन श्रेष्ठले मिलेर चलचित्रको सम्पादन गरेका हुन् । भने, सत्यम रानाको भिएफएक्स छ ।




