ऋचा र दिपेक्षको रिसेप्सन पार्टीमा महजोडीदेखि करिश्मासम्म (फोटोसहित)



गएको शनिबार लगनगाँठो कसेका अभिनेत्री ऋचा शर्मा र उनका श्रीमान दिपेक्ष विक्रम राणाले बिहीबार साँझ राजधानीको ठमेलमा रहेको ‘अलफ्ट होटल’ मा भब्य रिसेप्सन पार्टी दिएका छन् । पार्टीमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । आगन्तुक पाहुनालाई मिडियासँग कुराकानी गर्न र तस्विर खिचाउनका लागि फूलै फूलबाट आकर्षक सेटअप तयार पारिएको थियो ।

ऋचा र दिपेक्ष दुबैका पारिवारिक सदस्यसँगै बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्माता दीपकराज गिरी, हास्यकलाकार जितु नेपाल, निर्माता माधव वाग्ले, अभिनेत्री प्रियंका कार्की, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री केकी अधिकारी, मोडल नीति शाह, अभिनेता प्रशान्त ताम्राकार पार्टीमा सहभागी भएका थिए ।

त्यस्तै, अभिनेत्री करिश्मा मानन्धर, हास्यकलाकार मनोज गजुरेल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, अभिनेत्री नम्रता सापकोटा, साझा पार्टीका संयोजक रविन्द्र मिश्र, पत्रकार दिलभुषण पाठक, अभिनेत्री रीमा विश्वकर्मा, अर्बपति विनोद चौधरीका छोरा बरुण चौधरीलगायत पनि नव विवाहित दुलहा-दुलहीलाई बधाई तथा शुभकामना दिन पार्टीमा उपस्थित भएका थिए ।

पार्टीमा उपस्थिति पाहुनाले सञ्चारकर्मीसँग कुराकानी गर्दै ऋचा र दिपेशलाई बैबाहिक जीवनको शुभकामना दिएका थिए । ऋचाले आफूलाई राम्रो अभिनेत्रीको रुपमा साबित गरेझैँ राम्रो बुहारी र श्रीमतीको रुपमा पनि आफूलाई प्रमाणित गर्नेमा अभिनेत्री द्वय केकी र रीमा विश्वस्त देखिए । ऋचा सबै कुरामा पोख्त भएका कारण राम्रो गृहणी पनि हुने अभिनेत्री करिश्माले विश्वास व्यक्त गरिन् ।

अभिनेत्री ऋचाले भने अहिलेसम्म आफूलाई बुहारीको महशुस नभैसकेको बताउँछिन् । ‘अहिले ढोकभेट, उसको (दिपेक्ष) र मेरो रिसेप्सनमै व्यस्त छौं । हामीले परिवारसँग खासै समय विताउन पाएका छैनौं । त्यसमाथि मेरो आमा पनि विरामी भएका कारण हस्पिटल र घरमै वितिरहेको छ,’ दिपेक्षको घर भित्रिँदा मात्र आफूलाई आफ्नो विवाह भएको लागेको उनी सुनाउँछिन् ।

पर्दामा थुप्रै पटक दुलही भैसकेकी ऋचा वास्तविक जीवनमा दुलही हुँदाको क्षण शब्दमा बयान गर्न सक्दिनन् । उनी भन्छिन्, ‘एकपटक मैले फोनमा कुरा गर्दा म सुटमा छु पछि कुरा गर्छु भनेर भनेछु । रेखा (थापा) दिदीले सम्झाएपछि पो म झस्किएँ । तर, पर्दामा दुलही हुँदा र वास्तविक जीवनमा दुलही हुँदा आकाश जमिनको फरक हुँदो रैछ । जुन शब्दमा बयान गर्न सकिँदैन ।’

२ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी उनी केही समय पछाडि मात्र हनिमुनमा निस्कने तयारी रहेको बताउँछिन् । ‘अहिले म निकै व्यस्त छु । जनवरीसम्म ‘कमेडी च्याम्पियन’ को छायांकन छ । तर, हामी चाँडै हनिमुनका लागि भने निस्कन्छौं । म रारा नगएको र उहाँ (दिपेक्ष) मुस्ताङ नगएका कारण हनिमुनका लागि त्यहाँ जाने तयारी गरिरहेका छौं,’ उनले भनिन् ।

राजधानीमा रहेको लबिम मलका म्यानेजर रहेका उनका श्रीमान् दिपेक्षले आफूहरुको हनिमुन सरकारको ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउ गर्न हुने बताए । ‘हनिमुनका लागि विदेश जानुपर्छ भन्ने हाम्रो सोचाइ छ । तर, सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई हामीले किन प्रमोट नगर्ने ?,’ उनले अगाडि भने, ‘सरकारको यो अभियान हामीबाट सुरु गर्दैछौं ।’

ऋचा र दिपेक्षले बच्चाको बारेमा अहिले नै नसोचेको पनि बताए । ऋचाका श्रीमान् दिपेक्षले भने, ‘विवाह भएको भर्खर ५ दिन त भयो । अहिले नै बच्चाको बारेमा सोचेका छैनौं । भविष्यमा बच्चाको प्लानिङ बनायौं भने तपाईंहरुलाई अवश्य भन्नेछौं ।’ श्रीमानको कुरामा ऋचा मुस्कुराइन् मात्र । उनलाई दिपेक्षले १ सय ४४ वर्ष पुरानो हिराको औंठी लगाएर विवाहका लागि प्रपोज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu