अभिनेता पुष्प खड्काले गएको भदौमा प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ पछि कुनै नयाँ चलचित्र साइन गरेका थिएनन् । केही दिन अगाडि मात्र यो चलचित्रको जापान प्रदर्शन सकेर स्वदेश फर्किएका उनले शुक्रबार ‘चालबाज’ नामक नयाँ चलचित्र साइन गरेका छन् । अविनाश प्रधानले आफ्नो घरायसी कामका कारण चलचित्र गर्न नसक्ने भएपछि उनको ठाउँमा पुष्पको प्रवेश भएको हो ।
फिल्म रोज्नुको कारण स्क्रिप्ट कि पैसा ? भन्ने प्रश्नमा उनले भने, ‘मलाई झुट बोल्न आउँदैन । स्क्रिप्टभन्दा पैसा राम्रो पाएर नै चलचित्र गर्न लागेको हुँ । मेरो भूमिका पनि मनपर्यो । दर्शकलाई चलचित्रले निराश बनाउँदैन भन्ने विश्वास छ ।’ हाल छायांकन भैरहेको चलचित्रमा पुष्पको जोडी अभिनेत्री केकी अधिकारीसँग बाँधिनेछ । दुईले यसअघि केही भिडियोमा सँगै काम गरेका थिए ।

कमेडी कथामा बन्न लागेको चलचित्रलाई लिएर उत्साहित रहेको बताउने पुष्प आफ्नो भूमिका चुनौतीपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्र पुरै दार्जिलिङ टोनमा बन्न लागेको हो । मैले पनि दार्जिलिङ टोनमै संवाद बोल्नुपर्ने भएकाले उत्साह र डर दुबै छ । यद्यपि, आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्ने प्रयत्न भने गर्नेछु ।’ उनले पहिलो पटक कमेडी चलचित्र गर्न लागेका हुन् ।
अभिनेता पुष्प २-३ दिनमा चलचित्रको छायांकनका लागि दार्जिलिङ प्रस्थान गर्ने तयारीमा छन् । अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । ‘मंगलम’ बाट चर्चामा आएका पुष्पको प्रवेशसँगै चलचित्रमा कलाकारको लाइनअप बलियो भएको छ ।




