आउँदो माघ २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नृत्य छ । बि पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको गीतमा अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर छ ।
गीतको अडियो निकै बलियो छ । गीतको भिडियोमा केकीलाई नेपाली चलचित्रकी अभिनेत्रीको रुपमा नै चित्रण गरिएको छ, जो नृत्य प्रस्तुत गर्नका लागि सोलुखुम्बु पुगेकी हुन्छिन् । यो गीत चलचित्रमा कथाको माग रहेको निर्देशक विशाल सापकोटाले बताए । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । दिनेश राउत र सुवास थापाले चलचित्रको निर्माण गरेका हुन् ।

ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । ‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्छ ।
चलचित्रमा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् । जीवन थापाको सम्पादन रहेको चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ । यसअघि सार्वजनिक भएको फस्टलुक पोस्टर र टिजरमा देखिएको विपिनको भिन्न लुक्सले यो चलचित्रलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।
गीत हेर्नुहोस् :-




