घरमै मृत भेटिए कलाकार दीपक क्षेत्री



बरिष्ठ कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले भने- ‘शुक्रबार साँझ एक चलचित्रको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ । शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृत्य अवस्थामा भेटिएको थियो ।’

गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वस्थ थिए । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ मा देखिएका थिए ।

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । हरेक चलचित्रमा उनको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu