आइतबार साँझ नेपाली चलचित्र क्षेत्रका चम्किला नक्षत्र केशव भट्टराईको असमायिक निधन भएको छ । उनको निधनले सिंगो चलचित्र क्षेत्रलाई ठूलो क्षती पुगेको छ । आफ्नो सम्पूर्ण जीवन नेपाली चलचित्रका लागि समर्पित गरेका भट्टराईको आइतबार राती साढे १० बजे निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको बताइएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिँदैछ ।
८ महिना अगाडि नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् । वर्षौदेखि अनामनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका उनले अहिलेसम्म २ सयभन्दा बढी चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसकेका छन् । उनले पछिल्लो पटक अभिनेता सलिनमान बनियाँलाई लिएर चलचित्र ‘यात्रा’ बनाएका थिए । यो चलचित्र बक्सअफिसमा असफल साबित भएको थियो ।
‘यात्रा’ भन्दा अगाडि उनले ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘ब्रास्लेट’, ‘छोडि गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायत थुप्रै चलचित्र निर्माण गरेका थिए । ‘आफ्नो मान्छे’ ले विश्वज्योती हलबाट पाएको शेयरबाट उनले अनामनगरमा घर किनेका थिए । तर, यो चलचित्रपछि निर्माण गरेका चलचित्र क्रमशः बक्सअफिसमा असफल हुँदा उनले घर नै बेच्नु परेको थियो । ‘सो सिम्पल’ को असफलतापछि उनले घर बेचेर अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए ।

२०२५ साल मंसिर ४ गते ओखलढुङ्गामा जन्मिएका ५४ वर्षीय स्वर्गीय केशव भट्टराईले चलचित्रमा प्रवेश गर्नुभन्दा अगाडि ‘सिभिल इन्जिनियर’ पढ्ने सोच बनाएका थिए । तर, आफ्नो प्रप्ताङ्कमा २ नम्बर नपुगेपछि उनले उक्त विषय पढ्ने अवसर गुमाए । यसपछि उनी सिए पढ्न थाले । यसैक्रममा उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्न थालेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएपछि उनले प्राधिकरणबाट राजीनामा दिएका हुन् ।
भेट्रान निर्देशक तुलसी घिमिरेसँग भेट भएपछि कलाकार भट्टराईको बाटो मोडिएको थियो । निर्देशक घिमिरेले पहिलो भेटमै उनलाई चलचित्रमा अभिनय गर्न सल्लाह दिएका थिए । र, आफ्नो चलचित्र ‘कोशेली’ बाट अभिनयमा ब्रेक दिएका थिए । यसमा उनको भूमिका छोटो थियो । चलचित्रमा उनले एक अपराधीको भूमिका निर्वाह गरेका थिए । यो चलचित्रमा उनले गरेका सबै सिन एक सटमै ओके भएका थिए । यसपछि उनी नेपाली चलचित्रबाट टाढा हुन सकेनन् ।
‘चिनो, दुई थोपा आशु, दक्षिणा’ लगायतका चलचित्रमा काम गरेपछि उनले चलचित्र ‘मितज्यु’ मा आएर मुख्य अभिनेताको रुपमा काम गर्ने अवसर पाएका थिए । यो चलचित्रपछि उनको अभिनेताको रुपमा माग चुलिएको थियो । नाच्नमा कमजोर मानिने उनलाई त्यसबेला धेरैले ‘नाच्न नजान्ने हिरो’ समेत भन्ने गर्दथे । भट्टराईले पहिलो पटक निर्माण गरेको चलचित्र ‘दौतरी’ हो । यो चलचित्र ठिकठाक चलेको थियो । उनले बनाएको दोस्रो चलचित्र ‘आफ्नो मान्छे’ भने ब्लकबस्टर भयो ।




