दयाहाङको ‘नीरफूल’ फागुन ३० मा



पत्रकार फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मा प्रदर्शनका लागि तयार रहेको यो चलचित्र पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि प्रदर्शन मिति स्थगित गरिएको थियो । अब, फागुन ३० गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा चलचित्र आधारित रहेको बताइएको छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् । भने, दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु चलचित्र हो ।

चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । हालसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति चलचित्रमा देखाइएको उनी बताउँछन् । चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङलगायत छन् । चलचित्रलाई प्रमोद कार्कीले खिचेका हुन् । भने, अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu