आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशत यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ अहिले दर्शकको जिब्रोमा झुण्डिएको छ । यूट्युब रिलिजको पाँच दिनमा यो गीतमाथि १७ लाखभन्दा बढीको नजर परिसकेको छ । गीतले चाँडै करोड भ्यूज बटुल्ने अनुमान गरिएको छ ।
८५ हजार लाइक्स प्राप्त गीतलाई ९ हजार कमेन्ट मिलेको छ । गीतलाई नराम्रो लेख्नेको संख्या अत्यन्त न्यून छ । अधिकांशले गीतको अडियो र भिडियोको मुक्तकण्ठले प्रशंसा गरेका छन् । धेरैजसो दर्शकहरुले गीतको भिडियोमा फिचर्ड चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । जसले निर्माण टिममा खुसी छाएको छ ।

नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर तयार पारिएको गीतलाई सौरभ लामाले खिचेका हुन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । यो गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको निर्देशक सुदर्शन थापा बताउँछन् ।
सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको यो गीतका कारण चलचित्रको इनिसियल व्यापारमा केही हदसम्म भए पनि फाइदा पुग्नेमा निर्माण टिम विश्वस्त छ । ब्रान्ड बनिसकेका चलचित्रका सिरिजलाई गीतका कारण सुरुवाती व्यापारमा फाइदा पुगेका थुप्रै उदाहरण छन् । ‘म यस्तो गीत गाउँछु २’ को व्यापारमा पनि यो गीतले योगदान गर्नसक्ने देखिन्छ ।
हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय, गणेश गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । पूजा र सुदर्शन चलचित्रका निर्माता हुन् । २ वर्ष अगाडिको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण दर्शकमाझ यो चलचित्रको व्यग्र प्रतिक्षा भैरहेको छ ।
भिडियो :-




