चलचित्र निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक परेको छ । निर्माता पोखरेलकी आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार बिहान १० बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए ।

आफन्त र चलचित्रकर्मीले श्रद्धाञ्जली दिएपछि उनको अन्त्येष्टि गरिएको थियो । निर्माता पोखरेलकी आमा लामो समयदेखि विरामी थिइन् । चलचित्र निर्माता समाजका कोषाध्यक्ष र फिल्म वितरक कम्पनी एफडीका म्यानेजिङ डाइरेक्टर समेत रहेका निर्माता सुशील पोखरेल लामो समयदेखि चलचित्र निर्माणमा सक्रिय छन् । पछिल्लो पटक उनले ‘यात्रा’ नामक चलचित्र बनाएका थिए ।
‘यात्रा’ सँगै ‘लभ सब’, ‘राधे’, ‘जीवनदाता’, ‘परदेशी’, ‘मैदान’, ‘जय शिव शंकर’ लगायतका चलचित्र निर्माण गरिसकेका पोखरेल सोमबार चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र कलाकार दीपक क्षेत्रीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए । तर, भवितव्यले दोस्रो दिन नै उनले सोही ठाउँमा आमाको दाहसंस्कार गर्नुपरेको छ ।
ठूलोपर्दा डटकम परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।




