हिउँले सेताम्मे मनाङमा यसरी खिचिदैछ ‘प्रेम गीत ३’



अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेम गीत ३’ को गएको १० दिनदेखि हिमाल पारीको जिल्ला मनाङमा छायांकन भैरहेको छ । चलचित्रको ४५ प्रतिशत छायांकन काठमाडौंको कीर्तिपुरमा भब्य सेट खडा गरेर खिचिएको थियो । इनडोर छायांकन पूरा भएपछि निर्माण टिम आउटडोर छायांकनका लागि मनाङ पुगेको हो ।

जाडोको उच्च विन्दुका बावजूद पनि सिंगो टिमले लगावका साथ काम गरिरहेको निर्माता तथा निर्देशक सन्तोष सेन बताउँछन् । ‘हिँउ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले गाह्रो चाहिँ भएको छ । माइनस २६ डिग्री तापक्रमसम्म पनि टिमले मेहनतका साथ काम गरिरहेको छ,’ उनले भने । उनले अहिलेसम्म चलचित्रको कुल ७५ प्रतिशत छायांकन पूरा भएको बताए ।

उनका अनुसार, कुनै समस्या नआएको खण्डमा अबको १० देखि १५ दिनभित्र चलचित्रको सम्पूर्ण छायांकन सकिनेछ । चलचित्रको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको छ । यसकारण निर्माण टिम छायांकन सकिए लगत्तै प्रचार-प्रसारमा निस्कने तयारीमा छ । चलचित्रका लागि सबैभन्दा ठूलो खर्च सेट निर्माण र मुस्ताङबाट झिकाइएको घोडामा भएको सेनले बताए ।

हिउँले सेताम्मे मनाङको डाँडा र हिँउ परिरहेको अवस्थामा छायांकन गरिएका केही तस्विरहरु निर्माण टिमले बाहिर ल्याएको छ । तस्विरमा चलचित्रका कलाकार, निर्देशक तथा प्राविधिकहरु लगावका साथ काम गरिरहेका देखिन्छन् । चलचित्रमा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ कोे भूमिकामा देखिँदैछन् । भने, नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ कोे भूमिकामा छिन् ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनिरहेको चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्रीलगायतका कलाकारको पनि अभिनय छ । चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत छ भने राजेश श्रेष्ठको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu