महाशिवरात्रीलाई लक्षित गरेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् ।

अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलरमा अभिनेत्री मिथिलाले बोलेको एक संवाद निकै मनछुने छ । त्यस्तै, अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले झन् मन चसक्क बनाउँछ । दर्शकलाई चलचित्र हेर्न हलसम्म तान्न सक्ने ल्याकत ट्रेलरमा देखिन्छ ।

ट्रेलर हेर्दा चलचित्रको मूल कथा पिताको वरिपरि घुमेको लाग्छ । तर, चलचित्रको टाइटलझैं कथा पनि आमामै केन्द्रित रहेको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् । उनी यो चलचित्रका लेखन तथा छायाँकार समेत हुन् । ‘पशुपति प्रसाद’ पछि राम्रो चलचित्र हेर्ने दर्शकको पखाई ‘आमा’ ले पूरा गर्ने उनी दाबी गर्छन् । ‘4×3’ को फ्रेममा खिचिएको यो चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको हो ।
ट्रेलर हेर्नुहोस् :-




