‘सक्कीगोनी’ टिमले बनाउन लागेको चलचित्रको गीत हो ‘फनफनी’



हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी चलचित्र ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । लामो समयपछि यो जोडी अभिनयमा फर्किन लागेको हो । भरतपुरमा ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ निर्माण गर्न दिन-रात खटिरहेका उनीहरु रंगशाला निर्माणको सहयोगार्थ चलचित्र निर्माण गरेको बताउँछन् ।

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा ‘धुर्मुस-सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिताराम र कुञ्जनाको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस्को ब्यानरमा डिन्डु लामा ह्योल्मोको लगानीमा चलचित्र ‘सेन्टी भाइरस’ बनेको हो ।

यो चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरियो । शंकर थापा स्माइलको संगीत र डिपी खनालको शब्द रहेको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर छ । यो गीत यूट्युबमा रिलिज भएसँगै राम्रो चर्चा बटुलिरहेको छ । दर्शकले गीतलाई निकै रुचाएका छन् । यद्यपि, गीतको अडियोअनुसार भिडियो भने औसत बनेको छ ।

तर, ‘फनफनी’ गीत ‘सेन्टी भाइरस’ का लागि तयार गरिएको भने थिएन । अहिले चर्चामा रहेको हास्य टेलिसिरियल ‘सक्कीगोनी’ को टिमले निर्माण गर्न लागेको चलचित्र ‘फनफनी’ को शिर्ष गीत हो यो । चलचित्र निर्माणको तयारी तिव्र रुपमा भइरहँदा ‘फनफनी’ गीत रेकर्ड गराइएको थियो । तर, निर्देशकको रुपमा अनुबन्ध भएका निश्चल बस्नेतले हात झिकेपछि चलचित्र निर्माण हुन सकेन ।

‘सेन्टी भाइरस’ लाई गीत दिनुको कारण खुलाउँदै कलाकार कुमार कट्टेल (जिग्री) ले भने- ‘हामीले डेढ वर्षअघि चलचित्र ‘फनफनी’ को शिर्ष गीतको रुपमा यो गीत तयार पारेका थियौं । तर, ‘सेन्टी भाइरस’ अगाडि र हाम्रो चलचित्र केही ढिलो बन्ने भएपछि गीत दिएका हौं । यो गीत चलचित्रको कथासँग सुहाउने भएका कारण राखिएको हो ।’ यो चलचित्रको कथा पनि कुमारले नै लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu