‘आमा’ ट्रेलरको वाहवाही



‘पशुपति प्रसाद’ जस्तो व्यावसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र दिएका दीपेन्द्र के. खनाल निर्देशित नयाँ चलचित्र ‘आमा’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । बिहीबार यो चलचित्रको इमोसनल ट्रेलर सार्वजनिक भयो । ट्रेलर हेर्दा निर्देशक खनालले चलचित्रमा गहन विषय उठाएको देखिन्छ । अहिले चलचित्रको ट्रेलरको निकै चर्चा भैरहेको छ । ट्रेलरले धेरैलाई रुवाएको छ ।

३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग र समर्पणसँगै श्रीमानलाई जीवन दिन एक श्रीमतीले गर्ने संघर्षपूर्ण कथालाई निकै मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरमा अभिनेत्री मिथिला शर्माको अभिनय र संवादले आँखा रसाउँछ । अभिनेत्री सुरक्षा पन्तको अभिनय पनि उस्तै मनछुने छ ।

शर्मिला पाण्डे निर्मित ‘आमा’ चलचित्रको ट्रेलरलाई यो समाचार तयार पर्दासम्म पाँच लाख पन्ध हजारभन्दा बढीले हेरिसकेका छन् । २९ हजार लाइक्स मिलेको ट्रेलरमा अहिलेसम्म पाँच सय पनि डिसलाइक पुगेको छैन । यसबाटै चलचित्रको ट्रेलर दर्शकलाई कुन हदसम्म मन परेको छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यस्तै, १५ सयभन्दा बढी कमेन्टमा कसैले ट्रेलरको बारेमा नराम्रो लेखेका छैनन् ।

सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको ‘आमा’ को ट्रेलर हेरेपछि धेरैले भावुक भएको प्रतिक्रिया जनाएका छन् । निर्देशक खनाल ‘पशुपति प्रसाद’ पछि यस प्रकारको सकारात्मक प्रतिक्रिया मिलेको बताउँछन् । ट्रेलरबाट दर्शकमा चलचित्रप्रति निकै अपेक्षा बढेको छ । त्यसमा चलचित्र चाहिँ कुन हदसम्म सफल हुने हो ? त्यसका लागि कुर्नैपर्ने हुन्छ ।

सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको हो ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu