हरेक फिल्म र हरेक चरित्रमा भिन्न अवतारमा पदार्पण हुने अभिनेता विपिन कार्की पछिल्लो पटक चलचित्र ‘जात्रै जात्रा’ मा देखिएका थिए । यो चलचित्रपछि उनी पर्दामा देखिएकी छन् । आउँदो माघ २४ गते उनको प्रमुख भूमिका रहेको चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा उनी हास्यकलाकारको भूमिकामा छन् ।

हालसालै सार्वजनिक भएको पोस्टर र टिजरमा देखिएको अभिनेता विपिनको भिन्न अवतारले चलचित्रप्रति दर्शकमा कौतुहलता जागृत गरेको छ । कतिपयले भने यसलाई हलिउड चलचित्र ‘जोकर’ बाट प्रभावित भएर निर्माण भएको आरोप लगाएका छन् । किनकि, ‘सेल्फी किङ’ मा अभिनेता विपिनको हुलिया हलिउड चलचित्र ‘जोकर’ का अभिनेता वाकिन फिनिक्ससँग मिल्दोजुल्दो छ ।

तर, निर्माण टिमले कुनै चलचित्रबाट प्रभावित भएर ‘सेल्फी किङ’ निर्माण नभएको दाबी गर्दै आएको छ । दर्शकको अनुमान सत्य सावित होला या निर्माण टिमले गरेको दाबी, त्यसका लागि भने माघ तेस्रो हप्तासम्म प्रतिक्षा गर्नैपर्ने हुन्छ । एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्छ ।

यसबीच, निर्माण टिमले विपिनको क्यारेक्टर तस्विर सार्वजनिक गरेको छ । जसमा उनलाई दर्शकसँग सेल्फी खिच्दै गरेकोदेखि जोकर हुलियामा डाक्टरसँग चर्काचर्की गर्दै गरेको देख्न सकिन्छ । त्यस्तै, एक तस्विरमा उनी पानी तान्ने मेशिन बनाउँदै देखिएका छन् । अर्को एक तस्विरमा आमाको भूमिकामा रहेकी भुवन चन्दलाई विपिनको टाउकोमा तेल लगाउँदै गरेको देख्न सकिन्छ ।

ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिन र भुवनका अलावा लक्ष्मी बर्देवा, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । गत वर्षको व्यवसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउतले यही फिल्मका निर्माता सुवास थापासँग मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।




