मलाई लिड अभिनेत्री हुने लोभ छैन : सुपुष्पा



सुपुष्पा भट्टले गत वर्ष प्रदर्शनममा आएको चलचित्र ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यो चलचित्रमा उनको अभिनय र सुन्दरता निकै रुचाइएको थियो । यसपछि उनको नेपाली चलचित्रमा माग चुलिएको छ । तर, लिड अभिनेत्रीमा होइन, सहायक अभिनेत्रीको भूमिकामा । उनी पछिल्लो पटक चलचित्र ‘छ माया छपक्कै’ मा देखिएकी थिइन् । यसमा उनको जोडी कलाकार जितु नेपालसँग बाँधिएको थियो ।

तर, यो चलचित्र सफल भए पनि क्रेडिट उनले पाइनन् । यद्यपि, उनी ‘छ माया छपक्कै’ ले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउन सफल भएकोमा खुसी छिन् । अब, उनी आउँदो चैत २८ गते चलचित्र ‘चपली हाइट ३’ मा देखिँदैछिन् । यसमा उनीसँगै अभिनेत्री स्वस्तिमा खड्का पनि प्रमुख भूमिकामा छन् । यो चलचित्रमा उनी सहायक अभिनेत्रीको रुपमा रहेको कतिपयको अनुमान छ ।

मंगलबार साँझ राजधानीमा आयोजित चलचित्रको इन्डक्ल्याप पार्टीमा निर्माता अर्जुन कुमारले चलचित्रमा स्वस्तिमा लिड र सुपुष्पा सहायक अभिनेत्री नभएको बताए । उनी भन्छन्, ‘चलचित्रको मुल कथा नै दुवैको वरिपरि घुमेको छ । दुवै चलचित्रको लिड अभिनेत्री हुन् ।’ उनको छेवैमा रहेकी अभिनेत्री स्वस्तिमा सहायक र लिड भन्ने कुराले एक कलाकारका लागि अर्थ नराख्ने बताउँछन् ।

उनी भन्छिन्, ‘मलाई पनि चौथो/पाँचौ फिल्मसम्म आइपुग्दा धेरैले सहायक अभिनेत्री भन्ने गर्दथे । तर, आफूले राम्रो काम गर्ने हो । एउटा कलाकारका लागि सहायक र लिड नायिका भन्ने कुराले ठूलो अर्थ राख्छ भन्ने मलाई लाग्दैन ।’ उनको कुरामा सहमति जनाउँदै अभिनेत्री सुपुष्पाले चलचित्रमा भर्खर प्रवेश गरेका कारण अहिले आफू नोटिस हुने क्यारेक्टर मात्र गरिरहेको बताउँछन् ।

‘म भर्खर चलचित्र क्षेत्रमा आएको हुँ । बेवी स्टेप लिँदा गर्दा मैले नोटिस हुने क्यारेक्टर फोकस गरिरहेको छु । अहिले मलाई लिड अभिनेत्री हुने कुनै लोभ पनि छैन,’ उनी सुनिइन् । तर, सुपुष्पा ‘रणवीर’ मा आफू सहायक अभिनेत्रीको रुपमा रहेको कुरा मान्ने पक्षमा छैनन् । उनी भन्छिन्, ‘‘छ माया छपक्कै’ मा म सहायक अभिनेत्री नै थिएँ । त्यो स्वीकार्छु । तर, ‘रणवीर’ मा होइन ।’’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu