यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको सम्भवतः पहिलो नेपाली चलचित्र ‘चपली हाइट’ हो । त्यसअघि नेपालमा यो जनराका चलचित्र बनेका थिएनन् । रुनाधोना, एक्सन र लभस्टोरी चलचित्रकै बोलबाला थियो । एकैखाले चलचित्र हेरेर आजित भएका दर्शकलाई नयाँ स्वाद दिन निर्माता अर्जुन कुमारले ‘चपली हाइट’ बनाए । र, चलचित्रबाट अभिनेत्री विनिता बरालले डेब्यू गरिन् ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको ‘चपली हाइट’ रिलिज भएपछि चलचित्रको कन्टेन्ट र अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनलाई लिएर ठूलो विवाद जन्मियो । प्रायःले यसलाई ‘भल्गर चलचित्र’ को रुपमा टिप्पणी गरे । तर, चलचित्र विवादमा घेरिए पनि त्यसको असर व्यापारमा रत्ति परेन । निर्माता अर्जुन कुमारले थोरै लगानीमा बनाएको यो चलचित्रबाट नसोचेको पैसा हात पारे ।

यो चलचित्रपछि नेपालमा यौन मनोविज्ञानमा आधारित भएर अनगिन्ती फिल्म निर्माण भए । तर, दर्शकले कुनै रुचाएनन् । स्वयं ‘चपली हाइट’ को दोस्रो पार्टले समेत दर्शकको राम्रो साथ पाएन । निर्माता अर्जुन भने चलचित्रको सिरिज थप्न रोकिएका छैनन् । आउँदो चैत २८ गते ‘चपली हाइट ३’ रिलिज हुँदैछ । निकेश खड्का निर्देशित चलचिको गीतबाहेक सबै छायांकन पूरा भैसकेको छ ।
‘प्रेमगीत ३’ सँग एकसाथ प्रदर्शनमा आउन लागेका कारण पनि चर्चामा रहेको यस चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बनेको बताउँछन् । तर, चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल दुवै पाउने उनको दाबी छ ।
अभिनेत्री स्वस्तिमाको स्वच्छ छवि ‘चपली हाइट’ को नामले धमिल्याउन सक्ने कतिपयको विश्लेषण छ । मंगलबार चलचित्रको इन्डक्ल्याप पार्टीमा अभिनेत्री स्वस्तिमाले ‘चपली हाइट ३’ यौन मनोविज्ञानमा नबनेका कारण आफ्नो छविमा असर नपर्ने बताइन् । उनी भन्छन्, ‘यो यौन मनोविज्ञानमा बनेको चलचित्र होइन । चलचित्रमा भल्गर लाग्ने त्यस्तो कुनै कन्टेन्ट नभएकाले मेरो छविमा असर गर्छ जस्तो लाग्दैन ।’




