हरेक वर्षझैँ अर्को वर्षको दशैंमा पनि नेपाली चलचित्रबीच ठूलो भिडन्त हुने देखिएको छ । अर्को वर्षको दशैंका लागि अहिलेसम्म मह जोडीको चलचित्र र अशोक शर्माको चलचित्र ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाउन लागेको चलचित्र पनि अर्को वर्ष अर्थात् २०७७ सालको दशैंमा प्रदर्शनमा आउने तय भएको छ ।

यस वर्ष ‘छ माया छपक्कै’ लिएर आएको यो टिमले अर्को वर्षको दशैंमा सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ को चौथो श्रृंखला दर्शकमाझ पस्कने घोषणा गरेको छ । निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो ।
दीपाश्री निरौलाले निर्देशन गर्ने ‘छक्का पञ्जा ४’ दशैंको फूलपातीमा प्रदर्शन हुने दीपकराजले बताए । अब यो चलचित्रको भिडन्त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चलचित्रसँग हुनेछ । अहिले चलचित्रको कथामा काम भैरहेको निर्माता गिरीले जानकारी दिए । चलचित्रमा उनीसँगै जितु नेपाल र केदार घिमिरेको प्रमुख भूमिका रहनेछ । चलचित्रका लागि अभिनेत्री भने छनोट गरिएको छैन ।




