गएको कात्तिकमा प्रदर्शनमा आएको अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘पोइ पर्यो काले’ को सेयरलाई लिएर वितरक द्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच लफडा भएको छ । वितरक कायस्थले आफूलाई जानकारी नै नगराइ करणले हलबाट पैसा उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका छन् ।

उनले सेयर रोक्का गर्न भन्दै दिएको निवेदनमा काठमाडौंका विभिन्न चलचित्र हलहरुबाट आफूलाई कुनै पनि जानकारी नगराइ ‘पोइ पर्यो काले’ को सेयर रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले उठाएको उल्लेख छ । बिहीबार साँझ उनले चलचित्र संघमा दिएको निवेदनको तस्विर फेसबुकमा पनि राखेका थिए । तर, करणको आग्रहमा आफूले तस्विर हटाएको वितरक कायस्थ बताउँछन् ।

वितरक करण श्रेष्ठले गोपीकृष्णसहित काठमाडौंका प्रायः सबै हलबाट चलचित्रको सेयर उठाइसकेको तर आफूले पाउनु पर्ने १८ लाख नपाएको उनले बताए । उनले भने- ‘करणले आग्रह गरेपछि संघमा दिएको निवेदनको तस्विर फेसबुकबाट हटाएको हुँ । काठमाडौंका सबै हलको सेयर मलाई जानकारी नै नदिइ उठाएपछि मैले कागजी बाटो रोजेको हुँ ।’ वितरक श्रेष्ठले आफूसँग आइतबारसम्मको समय मागेको उनले बताए ।
वितरक श्रेष्ठ भने संघमा दिएको उजुरीको तस्विर फेसबुकमा राखेर वितरक कायस्थले आफ्नो मानहानी गरेको बताउँछन् । उनले भने- ‘चलचित्र अझै प्रदर्शन भइरहेकाले हलबाट सेयर आएको छैन । तर पनि उहाँले केही हलको पैसा लिइसक्नु भएको छ । मैले निर्मातालाई हिसाब देखाएर उहाँलाई नदेखाएको भए उजुरी दिन मिल्थ्यो । चलचित्रको सेयर निर्माताले नै पाउनुभएको छैन । उहाँले अहिले नै कसरी कमिसन पाउनुहुन्छ ?’
वितरक कायस्थको पुष्पाञ्जली र सिद्धार्थ हलबाट २ वर्षदेखि आफ्नो १५ वटा चलचित्रको सेयर नपाएको बताउँदै उनले अगाडि भने- ‘मैले उहाँको दुईवटा हलबाट झण्डै १५ वटा चलचित्रको पैसा पाएको छैन । उल्टै मैले चाहिँ मुद्धा हाल्नु पर्ने हो । तर, मभन्दा उहाँ अग्रज भएका कारण चुप लागेर बसेको छु ।’ उनले आइतबार वितरक कायस्थलाई छलफलका लागि बोलाएको बताए ।




