प्रथम ‘मिस नेपाल’ रुबी राणादेखि मलिना जोशी, सृष्टि श्रेष्ठ, जेनिशा मोक्तान, माल्भिका सुब्बा, झरना बज्राचार्य, निकिता चाण्डकसम्मले नेपाली चलचित्रमा आफ्नो उपस्थिति जनाइसकेका छन् । तर, ‘मिस नेपाल’ प्ल्याटफर्मबाट नेपाली चलचित्रमा थुप्रै सुन्दरीहरु भित्रिए पनि कसैको सोचेजस्तो सफल भने पाउन सकेका छैन ।
‘मिस नेपाल’ विजेताले नेपाली चलचित्रमा खासै राम्रो स्थान बनाउन नसके पनि आकर्षण भने घटेको छैन । नेपाली चलचित्रमा प्रवेश गरेकी पछिल्लो ‘मिस नेपाल’ निकिता हुन् । तर, केही ताजधारी सुन्दरीहरुलाई भने हिरोइन हुने कुनै रहर छैन । २०१८ की ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा ‘मिस नेपाल’ को विजेता भएपछि उनलाई चलचित्र अफर गर्न निर्माताबीच हानाथाप भएको थियो ।

तर, उनले आफ्नो लक्ष्य हिरोइन बन्नु नभएको भन्दै चलचित्र गर्न अस्वीकार गरिन् । यस वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठलाई पनि पर्दामा हेर्न चाहने दर्शकको संख्या ठूलो छ । तर, उनी पनि चलचित्रमा प्रवेश नगर्ने अडानमा छिन् । गएको हप्ता मात्र ‘मिस वल्र्ड’ मा सहभागी भएर फर्किएकी उनले आफूलाई अभिनय गर्ने, हिरोइन बन्ने र पर्दामा आउने कुनै सोच नभएको बताएकी छन् ।
एक अन्तर्वार्तामा भनेकी छन्, ‘सबैको रोजाईको क्षेत्र एउटै हुँदैन । मलाई हिरोइन भएर पर्दामा आउने मन छैन । तपाईंहरुले मलाई अभिनेत्री भएर पर्दामा आएको देख्नुहुने छैन ।’ ‘मिस वल्र्ड’ मा अनुष्काले ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् । अहिले उनको निकै चर्चा भैरहेको छ ।




