टिकटकबाट सेलिब्रेटी भएका जुम्ल्याहा दिदी बहिनी हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी दुईलाई नेपालको टिकटक स्टार भन्ने गरिन्छ । उनीहरुले केही म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । यी दुईलाई चलचित्रमा लिन चाहने निर्माताको लाइन पनि निकै लामो छ । तर, उनीहरु तत्काल हिरोइन भएर पर्दामा आउने सोचमा छैनन् ।
‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सीले चलचित्रमा अभिनय गर्ने अफर अस्वीकार गरिरहे पनि आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरीज’ को ‘छमछम’ बोलको गीतमा भने ठुम्का लगाएका छन् । उनीहरुले नेपाली चलचित्रको गीतमा नृत्य गरेको यो पहिलो पटक हो । यसकारण पनि यो गीत कस्तो होला भन्ने धेरैमा कौतुहलता थियो ।

सोमवार सार्वजनिक गरिएको गीतमा ‘ट्वीन्स गर्ल’ ले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतमा बाल गायिका कमला घिमिरेले गाएको लोक दोहोरीको केही अंश पनि समावेश गरिएको छ । निर्माण टिमले यो गीत खिच्नका लागि लाखौं रुपैयाँ खर्च गरेको छ भने तीन दिन लगाएर खिचिएको थियो ।
पहिलो पटक चलचित्रको गीतमा नृत्य गरेका भाइरल ‘ट्वीन्स गर्ल’ को अभिनय हेर्न पनि दर्शक आतुर छन् । अभिनेत्री हुने कुनै सोच छ ? ‘लभ डायरीज’ को गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रिज्माले भनिन्, ‘अभिनेत्री हुन धेरै क्वालिटी चाहिन्छ । डान्स आएर हुँदैन, अभिनय राम्रो गर्न सक्नुपर्छ । दर्शकको अपेक्षा पूरा गर्न सके मात्र अभिनेत्री हुनुको सार्थकता हुन्छ ।’
उनले अभिनेत्री हुने सोच भने बनाएको बताइन् । ‘हामी कहिले अभिनेत्रीको रुपमा आउँछौं थाहा छैन । त्यो समयको हातमा छ,’ प्रिज्मा सुनिइन् । उनी भिडियोमा झैँ चलचित्रमा पनि आफूहरु छुटिएर काम नगर्ने बताउँछिन् । उनले भनिन्, ‘दर्शकले हामीलाई रुचाउने नै दुई जनालाई हो । त्यसैले हामी चलचित्रमा पनि एकसाथ काम गर्नेछौं ।’ उनको कुरामा प्रिन्सीले पनि सहमति जनाइन् ।




