‘मिस्टर नेपाल २०१९’ का ताज शिरमा पहिरिएका सन्तोष उपाध्यायले आफूलाई नेपाली चलचित्रको हिरो बन्ने इच्छा रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘चलचित्रमा अभिनय गर्न इच्छुक हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘खासमा मलाई समाजप्रति आफ्नो योगदान बढाउन मन छ । एकदमै राम्रो स्क्रिप्टबाट अफर आयो भने चलचित्र पनि गर्नेछु । तर, मेरो रुची चाहिँ समाजसेवा हो ।’

‘मिस्टर नेपाल’ प्ल्याटफर्मबाट नेपाली चलचित्र क्षेत्रले एक कुशल अभिनेता पाइसकेको छ । एक समयका चर्चित अभिनेता जीवन लुईटेल दोस्रो ‘मिस्टर नेपाल’ का विजेता हुन् । तर, उनीपछि ‘मिस्टर नेपाल’ का विजेताहरुले नेपाली चलचित्रमा आफ्नो दरिलो उपस्थिति जनाउन सकेका छैनन् । सन्तोष भने आफूले चलचित्रमा अभिनय गर्ने वा नगर्ने भन्ने स्क्रिप्टमा निर्भर रहने बताउँछन् ।
तर, ‘मिस्टर नेपाल’ भइसकेपछि अभिनेता नै बन्नु पर्ने चाहना आफूमा नभएको उनको भनाई छ । लामो समयदेखि टिचिङ हस्पिटलमा चिकित्सकको रुपमा कार्यरत डा. सन्तोष आफूले शिक्षा र स्वास्थ्यमा गरिरहेको प्रोजेक्टलाई देशव्यापी बनाउन चाहेको बताउँछन् । उनी अगाडि भन्छन्, ‘मैले हाम्रो समाजलाई जरैदेखि परिवर्तन गर्नका लागि अभियान थालनी गर्न चाहिरहेको छु ।’

अब तपाईंलाई डाक्टर भन्ने कि ‘मिस्टर नेपाल’ ? पत्रकारको प्रश्नको जवाफ दिँदै उनले हँसिलो अनुहारमा भने, ‘डाक्टर मलाई लाइसेन्सले नै हटाउन मिल्दैन । ‘मिस्टर नेपाल’ को जिम्मेवारी पाएपछि यो पनि हटाउन मिल्दैन । दुवैलाई सँगै लिएर जानुपर्छ ।’ डा. सन्तोष उपाध्यायले ‘मिस्टर नेपाल’ को मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट र मिस्टर फोटोजेनिकको उपाधि पनि जितेका थिए ।




