केही वर्ष भोजपुरी चलचित्रमा व्यस्त रहेका एक्सन सुपरस्टार विराज भट्ट चलचित्र ‘साङ्लो’ लिएर नेपाली चलचित्रमा फर्किएका छन् । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको निर्देशन उनी स्वयंले गरेका हुन् । उनको अभिनय र निर्माण समेत रहेको चलचित्रमा पूर्व मिस नेपाल निकिता चाण्डक अभिनेत्रीको रुपमा छिन् । शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उद्घोषक नरेश भट्टराईले विराज भट्टलाई ‘बाघ फर्कियो’ भन्दै प्रशंसा गरे । उनकै बोली सापटी लिँदै पत्रकारले विराजलाई प्रश्न गरे, ‘बाघ फर्किएकै हो त ?’ यसको जवाफ विराजले निकै वजनदार दिए । उनले अघोषित रुपमा आफूलाई ‘बाघ’ स्वीकार गर्दै भने, ‘बाघ कहाँ गएको थियो र फर्किनलाई ? बाघ जंगलभन्दा बाहिर गएको थिएन ।’

बाघले शिकार गर्नका लागि केही समय जंगल परिवर्तन गरेको बताउँदै अभिनेता विराजले गर्जिलो आवाजमा अगाडि भने, ‘केही समय बाघ ठूलो जंगलमा गयो । त्यहाँ (भोजपुरी) मा पनि बाघले धेरैलाई लखेट्यो । अब बाघ उता (नेपाली चलचित्र) मा फर्किएको छ ।’ उनले आफूले एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए । चलचित्रमा गरेको लगानी फिर्ता हुनेमा उनी आशावादी छन् ।




