आउँदो चैत २८ गतेलाई अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘चपली हाइट ३’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यी दुई चलचित्रको भिडन्तको चर्चाले फिल्मवृत तातेको अवस्थामा यो मितिमा फेरि एक चलचित्र थपिएको छ । गोपीकृष्ण मुभिजको चलचित्र ‘माइकल अधिकारी’ ले पनि प्रदर्शनका लागि नयाँ वर्ष रोजेको छ ।

चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ भने उपत्यका बाहिरका लागि श्रीकृष्ण फिल्म्सले वितरणको जिम्मा लिएको छ । वितरक करण क्रेजीले उपयुक्त लागेका कारण ‘माइकल अधिकारी’ लाई चैत २८ गते प्रदर्शन गर्न लागिएको बताए । तर, यो चलचित्रको अहिलेसम्म छायांकन भने भएको छैन । चलचित्रको छायांकन माघको पहिलो साताबाट सुरु हुँदैछ ।
प्रेम जोडी समेत रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको अभिनय रहने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्दैछन् । चलचित्र सेरोगेसी (भाडाको कोख) को कथामा निर्माण हुन लागेको हो । तर, छायांकन सुरु भएको साढे दुई महिनामा ‘माइकल अधिकारी’ प्रदर्शनमा आउनेमा शंका छ । चलचित्रको हाइप बनाउन चैत २८ को डेट घोषणा गरिएको बताइन्छ ।




