‘साङ्लो’ अफर हुँदा आफूलाई अमिताभ बच्चन सम्झिएँ : कामेश्वर



भर्सटायल कलाकारको छवि बनाएका कामेश्वर चौरासियालाई गएको एक वर्षयता हातमा खासै चलचित्र परेको छैन । आफ्नो चर्को माग हुँदा उनले निर्मातासँग कि ‘लिड क्यारेक्टर’ कि मोटो पारिश्रमिक मागेका थिए । जुन उनकै करिअरका लागि घातक सावित भयो । उनलाई निर्माता/निर्देशकले न मोटो पारिश्रमिक दिन तयार भए न त ‘लिड क्यारेक्टर’ मा लिएर जोखिम मोल्न नै ।

आफ्नो डिमान्डका कारण कामेश्वर चौरासिया फिल्मकर्मीमाझ ‘घमण्डी’ को रुपमा चिनिए । र, उनलाई चलचित्र पनि अफर हुन छाड्यो । बिस्तारै उनी कामविहीन भए । चिनी किन्ने पैसासम्म उनीसँग हुन छाड्यो । बिहान बेलुका मेख जोर्न समेत हम्मेहम्मे भयो । चलचित्रबाट काम पाउन छाडेपछि उनले हात मुख जोर्न कुनै कम्पनीमा जागिर गर्ने सोच समेत बनाएका थिए ।

चलचित्र अफर हुँदा गेस्ट रोल अस्वीकार गर्ने कामेश्वर चलचित्र पाउन छाडेपछि भने पैसा पाए जस्तोसुकै रोल गर्न पनि तयार भए । तर, फिल्मकर्मीले ‘घमण्डी’ भन्न थालेपछि उनलाई गेस्ट रोल पनि अफर हुन छाड्यो । चलचित्र पाउने आश मेरेपछि उनी घर फर्किए । गाडीमा घर जाँदै गर्दा उनलाई अभिनेता विराज भट्टले फोन गरेर चलचित्र ‘साङ्लो’ मा अभिनयका लागि प्रस्ताव राखे ।

विराजले चलचित्र अफर गर्दा कामेश्वरले आफूलाई अमिताभ बच्चन सम्झिएछन् । उनी भन्छन्, ‘सुरुमा त कसैले झुक्याएको होला जस्तो लाग्यो । पछि उहाँले ‘म विराज नै हुँ’ भनेपछि ज्यादै खुसी भएको थिएँ । त्यसबेला मैले आफूलाई अमिताभ बच्चन ठानेँ । उहाँलाई पनि चलचित्र पाउन छाडेपछि घर जाँदै गर्दा एक निर्देशकले बोलाएर काम दिएका थिए रे । मेरो हकमा पनि त्यस्तै भयो ।’

‘साङ्लो’ मा काम गर्नका लागि घरबाट पुनः काठमाडौं फर्किएपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरे । र, मीनभवनस्थित बागमती करिडरमा एक होटल खोले । जहाँ उनी आफैं माछाका परिकारहरु पकाउँछन् । उनको होटलमा माछाको परिकार खान अहिले चलचित्रकर्मीहरु बाक्लै पुग्ने गरेका छन् । अब उनी चलचित्र अभिनय र होटललाई एकसाथ अगाडि लिएर जाने सोचमा छन् ।

अभिनेता विराज भट्टसँग भेट भएपछि कामेश्वरलाई भोजपुरी चलचित्रमा जाने आत्मविश्वास पलाएको छ । ‘साङ्लो’ को ट्रेलर रिलिज कार्यक्रममा उनले भने- ‘उहाँ (विराज भट्ट) जस्तो व्यक्ति भोजपुरी चलचित्रमा जानुहुन्छ भने म त झन् भोजपुरीकै मान्छे हुँ किन जान सक्दिनँ भन्ने आत्मविश्वास पलाएको छ । विराज दाईको संगतमा लागेर यतिसम्म सोच्ने आँट आएको छ । उहाँबाट धेरै सिक्न पाएँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu