अभिनेता अनमोल केसीले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग चलचित्र ‘ए मेरो हजुर ४’ मा रोमान्स गर्दैछन् । यसअघि उनले कुनै चलचित्रमा कुनै अभिनेत्रीसँग दोहोर्याएर काम गरेका थिएनन् । ‘ए मेरो हजुर ४’ का लागि भने उनले आफ्नो नियम तोडेका छन् । यो चलचित्रको अघिल्लो श्रृंखलामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । चलचित्र पनि सुपरहिट सावित भएको थियो ।
‘ए मेरो हजुर ४’ को आउँदो माघबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । यो चलचित्रलाई तेस्रो पटक अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशन गर्दैछिन् । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रको अहिले स्क्रिप्टलाई अन्तिम रुप दिने काम भैरहेको बताइएको छ । चलचित्रको कथा अघिल्लो श्रृंखलाभन्दा फरक हुने जानकारी प्राप्त छ ।

‘ए मेरो हजुर ४’ को छायांकनका लागि अभिनेत्री सुहाना अमेरिकाबाट नेपाल आइसकेकी छन् । उनी अमेरिकामा अध्ययनरत छिन् । नेपाल ओर्लिएको तेस्रो दिन (सोमवार) अभिनेत्री सुहानाको अभिनेता अनमोलसँग भेट भएको छ । सुहाना, अनमोलसँग लपक्कै टाँसिएको तस्विर निर्देशक झरना थापाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘आउ हात समाइ भागौं । ध्रुवतारापछि जाऊँ । तिमी र म । आकाशमै आउ हराऊँ । बादलको पारी जाऊँ । तिमी र म ‘ए मेरो हजुर ४’ ।’
निर्देशक झरनाले लेखेको यी प्रेमिल वाक्य ‘ए मेरो हजुर ४’ को गीतको अंश हुनसक्ने अनुमान गर्न सकिन्छ । ‘ए मेरो हजुर ३’ मा सुहानाले स्टार गायकको भूमिकामा रहेका अनमोलको फ्यानको भूमिकामा निभाएकी थिइन् । अब, चौथो श्रृंखलामा उनीहरु कुन भूमिकामा हुनेछन् भन्ने दर्शकमा कौतुहलता छ । चलचित्र अर्को वर्षको दशैंको छेकोमा प्रदर्शन हुनसक्ने सम्भावना छ ।




