जेठ १६ मा ‘चिसो एस्ट्रे



गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । दिनेश पाल्पाली (दिन्श) को निर्देशन रहेको यो चलचित्र जेठ १६ बाट प्रदर्शनामा आउने निश्चित भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा चलचित्रले पेश गर्ने बताइएको छ । चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

निर्देशक दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

‘चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रको निर्माण प्रबिन स्याङ्बोले गरेका हुन् । चलचित्रमा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निभाएका छन् । चलचित्रमा अजर जंगमको संगीत र उज्जल बस्ताकोटीको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu