यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ दोस्रो संस्करणको भव्उ कार्यक्रमका बीच उदघाटन भएको छ । आयोजक संस्था इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) डिल्ली अधिकारी, बरिष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीहरुलाई जोड्ने बृहत अभियानसँगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफू र आफ्नो संस्थाले यो अभियान थालेको काय्रक्रम प्रमुख डिल्ली अधिकारीले बताए । समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स, कार्य्रक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतले मन्तव्य राखेका थिए ।

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका कलाकारहरु, नेपालबाट आएका कलाकार, स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका विगतका सिजनका विजेता कलाकारहरुले कार्यक्रममा आ आफ्नो प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा वरिष्ठ गायक प्रकाश श्रेष्ठ, वरिष्ठ लोक गायकद्वय प्रेम राजा महत तथा नविन कुमार खड्का, नायक दिलिप रायमाझी, सुशिल छेत्री, मुकेश ढकाल, गायिका अन्जु पन्त, नायिका सारंगा श्रेष्ठ, पूजा चन्द, मेलिना मानन्धर, अरुणिमा लम्साल, गायक शिव परियार, जगदीश समाल, बाबु बोगटी, महेश थुलुङ्ग, किशोर सिवाकोटी, किरण गजमेर, हास्यकलाकार सन्दिप छेत्री लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

सो कार्य्रक्रममा करीब पन्ध्र सयको संख्यामा दर्शकको उपस्थिति रहेको थियो । ८ घण्टा सम्म चलेको सो कार्य्रक्रमसँगै मेरो डान्स कप चौथो संस्करण र मेरो भ्वाईस कप दोस्रो संस्करणमा सहभागीताका लागि फर्म पनि खुल्ला गरिएको छ । इच्छुकले सहभागिताका लागि मेरो डान्स कपको फेसबुक पेजबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपाली भाषीहरुले यी प्रतियोगीताहरुमा भाग लिन पाउनेछन् । विजेतालाई टोयोटा कार, सुनको कपसँग थुप्रै आकर्षक पुरस्कारहरु प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलिप रायमाझीले जानकारी दिए । उनी डान्स कपको निर्णायक समेत हुन् । उनीसँगै केकी पनि निर्णायकमा छिन् ।




