‘एक्सन स्टार’ विराज भट्टले ४ वर्षपछि नेपाली चलचित्रमा फर्किएका छन् । अब नेपाली चलचित्रलाई निरन्तरता दिने सोचमा रहेका उनी अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘साङ्लो’ प्रदर्शनको संघारमा छ । आउँदो माघ २४ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । उनले पहिलो पटक
निर्देशनमा हात हालेका कारण यो चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता धेरैमा छ ।
पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यू चलचित्र भएका कारण पनि ‘साङ्लो’ प्रति चासो राख्नेको संख्या ठूलो छ । गएको ६ दिन अगाडि चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा अभिनेता विराज धमाकेदार एक्सन गर्दै देखिएका छन् । उमेरले ४० नाघे पनि उनले गरेको पावरफूल एक्सनले चलचित्रप्रति दर्शकमा झनै प्रतिक्षा बढेको छ । चलचित्रले मृगौला तस्करीको कथा भन्छ ।

यूट्युबमा चलचित्रको ट्रेलरलाई ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया मिलेको छ । ७ लाख नजिक भ्यूज रहेको ट्रेलरको कमेन्टमा ६ हजार २ सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् । कमेन्ट बक्समा अधिकांशले चलचित्रको ट्रेलरले साउथ फिल्मको झल्को दिएको बताएका छन् । अभिनेता विराजलाई नेपाली चलचित्रलाई स्वागत गर्दै प्रायः दर्शकले ‘बाघ फर्कियो’ भन्दै सम्बोधन गरेका छन् ।
ट्रेलरको कमेन्ट बक्समा एक दर्शक लेख्छन्, ‘साँच्चै नेपाली फिल्म इन्डस्ट्रीमा धेरैपछि निकै भयानक र राम्रो चलचित्र बनेजस्तो लाग्यो । ‘साङ्लो’ को टेलर हेर्दा ।’ त्यस्तै, अर्का दर्शक लेख्छन्, ‘धेरै राम्रो एक्सन चलचित्र बनेको रैछ । झारपात हिरोहरुको फिल्म हेर्दाहेर्दै अघाइसक्यो । अब एक्सनमय चलचित्र हेर्ने हो ।’ ‘साङ्लो’ प्रति दर्शकको उत्सुकता कति छ भन्ने कमेन्ट बक्स हेर्दा नै थाहा हुन्छ ।
विराज फिल्मको ट्रेलरलाई मिलेको सकारात्मक प्रतिक्रियाले हर्षित भएको बताउँछन् । उनी भन्छन्, ‘चलचित्रका लागि हामीले गरेको मिहिनेत दर्शकले रुचाउनुभएको छ । योभन्दा ठूलो खुसी हाम्रो लागि अरु हुनै सक्दैन । ट्रेलर हेरेपछि दर्शकको चलचित्रप्रति अझ अपेक्षा बढेको छ । त्यो अपेक्षा चलचित्रले पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । ट्रेलरभन्दा पनि राम्रो चलचित्र बनेको छ ।’
विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, अमित गिरी, शिशिर भण्डारीलगायतको अभिनय रहेको चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।
ट्रेलर हेर्नुहोस् :-




